काठमाडौं। स्थानीय तहको निर्वाचनको लागि आचारसंहितामा बिशेष जोड दिदै आएको निर्वाचन आयोगलाई सामाजिक सञ्जाल फेसबुकले भने निराश बनाएको छ। निर्वाचन आचारसंहिता तयार गरि आम सर्वसाधारण र सञ्चारमाध्यमलाई पालना गर्न निर्देशन जारी गरेको निर्वाचन आयोग सामाजिक सञ्जाल फेसबुकसँग भने निराश भएको हो।
नेपाली मिडियालाई र आम मतदातालाई निर्देश जारी गरेकै शैलीमा फेसबुकलाई पनि निर्वाचनको सम्मुखमा आचारसंहिता पालना गर्न अनौपचारिक रुपमै आग्रह गरेको निर्वाचन आयोगलाई फेसबुकले आफूले नेपालको निर्वाचन आचारसंहिता मान्न वाध्य नभएको बताएको हो। निर्वाचनको बेलामा उमेद्वारहरुले फेसबुकमा प्रचार गर्नु कुनै आपराधिक गतिविधी नभएको तर्क गर्दै फेसबुक व्यवस्थापनले आफूहरुले फेसबुक युजरको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्न नसक्ने जवाफ दिएको छ।
हालै नेपाल भ्रमणमा आएका फेसबुकको दक्षिण एशियाको सरकार तथा निर्वाचन मामिला हेर्ने मेनेजर नितिन सलुजाले फेसबुकले तोकेको कम्युनिटी स्ट्यान्टर्ड उल्लंघन गरिएको उजुरी परेको अवस्थामा फेसबुकको सामग्री हटाउन मिल्ने अन्यथा हटाउन नमिल्ने जवाफ दिएको निर्वाचन आयोग स्रोतले बतायो।
निर्वाचन आयोगका प्रमुख आयुक्त सहितका केहि उच्च अधिकारीहरुसँग सलुजाको भेट भएको बताइएको छ। निर्वाचनको बेलामा कति उमेद्वार तथा पार्टीहरुले फेसबुकमार्फत विज्ञापन गरिरहेका छन् त्यसको जानकारी दिन आयोगले सलुजासँग आग्रह गरेको थियो। तर फेसबुकको त्यो व्यवसायिक कुरा भएको र युजरको गोपनियताको कुरा भएकोले त्यसको जानकारी दिन नमिल्ने जवाफ आयोगका अधिकारीहरुलाई सलुजाले दिएको स्रोतले बताएको छ। त्यसको जानकारी दिन नमिल्ने हो भने मौन अवधीको वेलामा कतिले प्रचार गर्छन त्यसो जानकारी दिन आयोगले गरेको आग्रहमा पनि फेसबुकले त्यो जानकारी पनि दिन नसक्ने बताएपछि औपचारिक रुपमा फेसबुकलाई आग्रह गर्ने सोच आयोगले त्यागेको हो।
सञ्चारमाध्यममा एक्जीट पोल गर्न समेत नदिने बताएको आयोगले फेसबुकमा विभिन्न व्यक्ति तथा संस्थाले गरेको एक्जिट पोल समेत रोक्न सकिन्छकी भनेर गृहकार्य गरेको थियो। तर सबै प्रश्नमा फेसबुकको सकारात्मक जवाफ पाउन नसकेको आयोगका अधिकारीहरु केहि निराश पनि भएको बताइएको छ।