arrow

स्थानीय चुनावपछि गोल्डमेडलिस्ट खेलाडी विदेशिने स्थिति आउने छैन : फुटबलर अनिल गुरुङ

फुटबलर अनिलले भोट कहाँबाट खसाउलान् ?

logo
चन्द्र धामी,
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
anil-gurung-new.jpg.jpeg

काठमाडौं । ‘स्थानीय चुनावपछि गोल्डमेडलिस्ट खेलाडी विदेशिने स्थिति आउने छैन,–राष्ट्रिय फुटबलर अनिल गुरुङको भनाई हो यो । गुरुङले यो कुनै चुनावी नारा दिएका होइनन् । न उनले कसैका लागि भोट मागेका हुन् । उनले नेपाली खेलकुदको वर्तमान सुझाउदै भविष्यको चिन्ता गरेका हुन् ।

कुराकानीको विषय प्रवेश गर्न नपाउँदै अनिलले आफै भनिहाले, ‘मलाई राजनीतिक कुराहरुको त्यति ज्ञान छैन । सिलसिलेवार बोल्न पनि आउँदैन ।’ यद्यपि, २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकामा भने उनी निकै खुशी छन् । अनिलले हाम्राकुरासँग भने, ‘स्थानीय चुनावपछि मुलुकमा नयाँ अभ्यासको सुरुवात हुनेछ । नयाँ गतिविधि हुने छन् । सुकेको खेलकुदले पालुवा लिने छ ।’

चुनाव भएर मात्र नहुने बताउँदै उनले अगाडि थपे, ‘अहिलेसम्म के भयो भएन । त्यतातिर नजाऔँ । अहिलेसम्म जे भयो राम्रैका लागि भयो । अब उपरान्त भविष्य कता लैजाने भन्ने हाम्रै हातमा छ । यो महत्वपूर्ण अवसर हो ।’ राजनीतिक ज्ञान त्यति नभएको बताएका अनिलले नेपाली जनताको पीडा र खेलाडीको पीडा बडो गहिरिएर भने । ता कि अनिल राष्ट्रिय फुटबल टिमको मात्रै टिम लिडर होइनन्, उनी एक लोकतान्त्रिक संघर्षका सिपाही हुन् । उनले अगाडि भने, ‘महत्वपूर्ण समय हो । अहिले सम्म हामीले दुःख पायौँ त आफ्नै कारणले । अहिले हामी निर्णायक भूमिकामा छौँ । खेल मैदानमा हाम्रो भविष्य बनाउनेहरु छन् । कोही झुक्किनु हुँदैन र कोही प्रलोभनमा फस्नु हुँदैन ।’ चुनावले ले नै हो थिति बसाल्ने र विधिको शासन चलाउने नेतृत्व खोज्ने भन्दै अनिलले सफाट तर्क गरे ।
 

चुनावपछि खेलकुदको मुहार फेरिन्छ
फुटबलर अनिलले हाम्राकुरासँग भने, ‘अब कोही पनि क्षेत्र गाउँ रहेन । नयाँ व्यवस्थाका हिसावले सबै सहर र अधिकार सम्पन्न क्षेत्र भए । ती क्षेत्रले खेलकुदलाई पनि समृद्धिको आधार बनाउने छन् । खेलकुदबाटै आ–आफ्नो क्षेत्र र मुलुकलाई चिनाउने छन् । खेलकुद मूल चिनारी बन्ने छ ।’ देशलाई चिनाउने खेलकुद नै हो, अनिलले थपे, ‘अब काठमाडौं केन्द्रीत वा पोखरा केन्द्र अथावा अरु कुनै सहर मात्र नभई प्रत्येक गाउँपालिका र नगरपालिका खेलकुद सहर बन्नु पर्छ । त्यहाँ खेलकुदका पूर्वाधार देखि संस्थागत संरचनाहरु पनि बन्नु पर्दछ ।’ ठाउँठाउँमा पूर्वाधार बन्नुपर्छ ।
खेलकुदका गतिविधि हुनै छाडेको चिन्ता गर्दै अनिलले अब बन्ने स्थानीय तहहरुले खेलकुदलाई प्राथमिकतामा राख्ने विश्वास गरे । नेपालमा धेरै विधाका खेलहरु खेलाउन पाइयोस् ।
 

खेलाडीका दुःख पनि आम जनताको जस्तै
अनिलले भने, ‘नेपाली खेलाडीले निकै दुःख पाएका छैन् । कसैले त दुःख खप्न नसकेपछि खेल क्षेत्र नै छोडे । नेपालमा खेल भइरहेकै छैन । अहिलेसम्म हामीले जति बाहिर गएर खेल्यौँ त्यो सबै नेपालको चिनारी र पहिचानको कारण मात्रै हो । हामी नेपालीको पहिचानको कारण मात्रै अहिले सम्म खेल्न पाइरहेका छौँ ।’ खेलको हिसाबले हेर्दा हाम्रो खेलको स्तर छैन । हामी स्तरका आधारले खेल्न सकिरहेका छैनौँ ।

कोही खेलाडी अहिले खेलकुदमा भविष्य बनाउँछु भनेर उत्साहले आएको नदेखेको तीतो पनि अनिलले सुनाए । उनले भने, ‘यति सम्मकी त्यत्रो गोल्डमेडलिस्टहरु विदेशमा छन् भन्ने मैले कुनै पत्रिकाको आलेख पढेर थाहा पाए । ३ सय ५० जना गोलमेडलिस्टहरु विदेशमा रहेछन् ।’ स्थानीय सरकार बनेपछि स्थानीय स्तरमा पनि खेल गतिविधि तीब्रताका साथ बढ्ने छन् । खेलाडीहरु आफै करियर खोज्न आउने वातावरण बन्ने विश्वास छ, उनले थपे, ‘सधैँ निशासावादी भएर सोच्नु हुँदैन । आशावादी हुनै पर्छ । तर, गर्ने व्यक्ति चुन्ने निर्णायक हामी नै हो । चुनाव मतदाताकै उत्सव हो । जसले भविष्य निर्धारण गर्छ । यो कुनै पर्वसँग तुलना गर्न मिल्दैन । र, विश्व खेलकुदको कुनै महाकुम्भ भन्दा कम होइन ।’
 

खेलाडीका त झन् पीडै पीडा
उनले वेलिविस्तारमा भने, ‘अहिले केही राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई विभागिय टिममा ठाउँ छ । बाहिर बस्नेहरु त पुरै फुर्सदिला । राष्ट्रिय टिममा भएकाहरु त औँलामा गनिने मात्रै छन् । राष्ट्रिय टिममा पनि धेरै खेलाडी छैनन् । ८–९ वर्ष पहिले बाहिरबाट राम्रो प्लेयर आउँथे । अहिले त्यो अवस्था पनि रहेन । राती नसुती नसुती बाहिरका लिगहरु हेरेपनि नेपाली खेलकुदको स्तर बढेको मानिदैन ।’ धेरै खेलाडीहरु बाहिरिएका छन् । घरेलु फुटबल हुँदैन । मोफसलका प्रतियोगिताले पनि नयाँ फर्म्याट पाएका छैनन् ।

गम्भीर हुँदै अनिलले भने, ‘विडम्पना राष्ट्रिय लिग नभएको ४ वर्ष भयो । राष्ट्रिय लिग हुन छोडेपछि कतिपय खेलाडीहरु पलायन भइसके । हामी औँलामा गणना हुनेहरु मात्रै छौँ ।’ खेलाडीको जीवन बीमा, स्वास्थ्य बीमाको त कुरौँ छोडौँ काठमाडौँमा बस्ने खाने प्रबन्ध मिलाउनै कठिन छ । अहिले काठमाडौँका त्यति खेलाडी छैनन् काठमाडौँ बाहिरकै छन् । काठमाडौँमा बस्नै हम्मे भइरहेको छ, अनिलले भने, ‘आउने स्रोत छैन, खेल नै हुँदैन । कसरी खेलाडी टिकेर बस्छन् ?’ जुन देशको घरेलु लिग राम्रो हुँदैन त्यो देशको नेशनल र इन्टरनेशनल प्रदर्शन कसरी राम्रो हुन्छ, अनिलले प्रतिप्रश्न गरे ।
 

अनिलले भोट कहाँबाट खसाउलान् ?
अनिलले आफ्नो मतदाता नामावली स्याङजाबाट रहेको पनि बताए । उनले भने, ‘मेरो त स्याङ्जा नै हो । स्याङजाबाटै भोट हाल्छु । तर, उपयुक्त व्यक्ति हेरेर । मेरो मतको सदुपयोग गर्ने व्यक्तिनै मेरो रोजाइ हो ।’ स्याङजाको साविकको सिरुवारी र अहिलेको आधिखोला गाउँपालिकाबाट अनिलले मतदान गर्ने छन् । आँधिखोला–१ उनको मतदान गर्ने ठाउँ हो । सिरुवारी नेपालको पहिलो पर्यटकीय गाउँ हो । जहाँ गुरुङहरुको बसोवास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ