स्मार्ट लाईसेन्सको नाममा नेपालीको विवरण भारतलार्इ नबुझाउन सर्वोच्चको आदेश
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
408
Shares
काठमाडौं । सर्वोच्च अदालतले स्मार्ट लाईसेन्सको नाममा नेपालीको गोप्य विवरण नेपाल बाहिर नलैजान सरकारको नाममा आदेश गरेको छ । बिहीबार सर्वाेच्च अदालतका न्यायाधीसद्वय केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले यस अघि गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको हो ।
स्मार्ट लाईसेन्सको नाममा नेपालीहरुको गोप्य सूचना भारत लैजान लागिएको आरोप सहितको समाचार प्रकाशित भएपछि अभिवक्ता भक्तिराम घिमिरेले यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटको अध्ययन पछि सर्वोच्चले बैशाख १० गते तत्कालको लागि नेपाल बाहिर यस्तो तथ्थांक नपुर्याउन अन्तरिम आदेश गरेको थियो ।
सो सम्बन्धमा मन्त्रिपरिषद्, यातायात व्यवस्था विभाग लगायतका सरोकारवालाहरुसँग समेत छलफल गरिसकेपछि सर्वोच्चको संयुक्त इजलासले नेपाली नागरिकको ड्राईभिङ लाईसेन्सलाई डिजिटल गराउने कार्य गर्दा नेपाली नागरिकको डाटा विदेशीको हातमा पुग्दा नेपालीको सुरक्षा संवेदनशीलतामा समेत गम्भीर असर पर्नेदेखिएकोले सरकारको नियन्त्रणमा राटा रहने र विदेशीको हातमा डाटा पुग्न नसक्ने व्यवस्था मिलाउनको लागि सरकारको नाममा परमादेश जारी गरेको हो ।