एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
934
Shares
रत्ननगर (चितवन)। नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताए छ। एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उनले प्रस्ट पारे।
चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उनले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गरे। “जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन ?” नेता ओलीले प्रश्न गरे।
पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गरे। अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गरे।
विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले बोकेको उनको आरोप थियो। कार्यक्रम सुरु हुनुअघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित पदयात्रा निकालेका थिए। रासस