काठमाडौं । कालिकोटको खाडाचक्र नगरपालिका–२ को भवानी आधारभुत विद्यालय मेग्रमा नमूना मतदान हुँदा पाँच प्रतिशत मत बदर भएको छ । ६ सय १६ मतदाता रहेको भवानी आधारभुत मतदान केन्द्रमा ३५ जनाले नमुना मतदान गरेका थिए ।
खसेको मध्ये पाँच प्रतिशत मत बदर भएको छ । आउँदो आइतबार हुने स्थानीय तह चुनावलाई लक्षित गरी नमूना मतदान गराइएको हो ।
निर्वाचन आयोगले ढिलो पत्रचार गरेकाले नमूना मतदान कार्य गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मणिराम भट्टराईले बताए । छोटो समयमा चुनाव गर्नु पर्ने जोखिम लिएको आयोगले संचालन गरेको निर्वाचन शिक्षालाई समेत पर्याप्त समय नपुगेको बताइँदै छ । कालिकोटको दुई स्थानमा पनि नमूना मतदान भएको छ ।
दलित समुदायमा शैक्षिक अवस्था कमजोर भएको र मतदाता शिक्षा समेत प्रभावकारी ढंगले सञ्चालन नभएको राप्रपाका वडा सदस्य उम्मेद्वार प्रदिप विष्टले बताए । ९० प्रतिशत दलित समुदाय भएको मेग्रमा धेरै मतदाताको नाम नै नभएको गुनासो आएको मतदान अधिकृतले बताएका छन् ।
निर्वाचन आयोगले छैटौ मतपत्रमा मतदाता झुक्किरहेको स्वीकारेको छ । यस्तै, आयोगले विहिबारदेखि मतदाता परिचयपत्र वितरण गर्दा समेत प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक खटाएर मतदानमा अस्पष्टता भए नमूना मतदान गरेर सिकाउने अभ्यासलाई पनि जारी राखेको जनाएको छ ।