arrow

यस्ता पो काँग्रेसी उम्मेदवारहरुः सरकारी सुविधा नलिने प्रतिबद्धता

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
Myagdi_District.png

बेनी । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट म्याग्दी नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । 

बेनी नगरपालिकामा काँग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेका हुन् । 

काँग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन् । 

‘यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन’ उनले भने । 

नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत हुन् ।  

यस्तै, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार क्या पुनले भने ‘प्रमुख पदका लागि कस्तो र कति सरकारी सुविधा निर्धारण गरेको छ, मलाई थाहा छैन । तर, जे–जति पाउँछु त्यो सबै वृद्धवृद्धाको सुविधामा खर्च गर्नेछु ।’ 

अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलवीर राम्जाली चुनावी मैदानमा छन् । 

त्यसैगरी रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका प्रत्यासी भवबहादुर भण्डारीले पनि मतदातामाझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ