भक्तपुरमा एमाले र नेमकिपासँग एक्लै लड्दै काँग्रेस, घरदैलो अभियान जारी
प्रकाशित २०७४ वैशाख २३ शनिबार
183
Shares
भक्तपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । अहिले संसद्को सबैभन्दा ठूलो दर नेपाली काँग्रेसका उम्मेदवारले नेकपा एमालेले र भक्तपुरमा बलियो मानिएको नेपाल मजदूर किसान पार्टीको संयुक्त उम्मेदवारसँग भिड्दैछन् । चुनाव प्रचारका क्रममा अहिले कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरिसकेका छन् ।
यसअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमालेभन्दा करिब ५०० मत बढी पाएर विजयी भएको काँग्रेसले अहिले भक्तपुरमा सहज जीतको आकलन गरेको छ । तर, नेपाल मजदूर किसान पार्टीसँग गठबन्धन गरेको एमालेका उम्मेदवार नै काँग्रेसको लागि मूल चुनौती बनेर आएको देखिएको छ । मध्यपुर थिमिमा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ भने एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरी संयुक्त प्यालन बनाएर उम्मेदवारी दिएका छन् ।
नगरप्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ र नगर उपप्रमुखका उम्मेदवार नेमकिपाका केदार खड्कासहितको टोलीले मध्यपुर थिमिमा घरदैलो अभियान तीव्र पारेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट घरदैलो अभियान सुरु गरिएको नगरप्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले बताए।
जनताको समस्यालाई आत्मासात् गर्दै मध्यपुरको मुहार फेर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार रहेका अष्टकुमार कवेँले कार्यकर्ता र समर्थकको टोलीसहित लोकन्थलीमा घरदैलो सकेर कौशल्टार र गठ्ठाघरमा घरदैलो अभियान सञ्चालन गरेका छन्। विगतमा काँग्रेसले मध्यपुर थिमिमा विकासको लहर ल्याएको दाबी गर्दै कवेँले विकासका कार्यलाई निरन्तरता दिइने बताए।
मध्यपुर थिमि नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत घरदैलो अभियान सुरु गरेका छन् । आफ्नो पार्टीले जनताको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ घरदैलो अभियान सुरु गरेको माओवादी केन्द्रका नेता कृष्णलाल गोजाश्रेष्ठले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियान सुरु गरेर जनतासँग भोट माग्न थालेको राप्रपाका उपप्रमुखका उम्मेदवार नरगोविन्द शङ्खदेवले बताए । राप्रपाले चाँगुनारायण नगरपालिकामा समेत घरदैलो अभियान सुरु गरेको सो नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रबिन्द्र प्रताप शाहले बताए।
चाँगुनारायण नगरपालिकालाई आधुनिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने, नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, आगामी १० वर्षभित्र स्मार्ट सिटी बनाउने, पूर्वाधारयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको शाहको भनाइ छ ।
काँग्रेस चाँगुनारायण नगरपालिकामा घरदैलो अभियानलाई तीव्र पारेको नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले बताए। यस्तै सूर्यविनायक नगरपालिकामा एमालेले घरदैलो अभियानलाई तीव्र पारेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक विकास, प्रविधि, आर्थिक वृद्धिदरको दृष्टिकोणले समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ घरदैलो अभियान थालेको बताए।