– जानुका पराजुली, उपमेयर पदको उम्मेदवार, चौतारा साँगाचोकगढी नगरपालिका
नयाँ संवैधानिक व्यवस्थासँगै नेपालमा पहिलो पटक वैशाख ३१ गते स्थानीय तह (सरकार)को निर्वाचन हुँदैछ । नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको संघीय संरचना अनुसार अधिकारसम्पन्न स्थानीय तह बनेको छ । वैशाख ३१ को निर्वाचनपछि नगरपालिकाको विकास, न्याय सम्पादन र भविष्यको फैसला निर्वाचित जनप्रतिनिधिहरुले नै गर्ने छन् । मतदान गर्ने दिन मुखैमा आउँदा चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयरको प्रत्यासी रहेकी जानुका पराजुलीलाई भोट माग्न भ्याई नभ्याई छ । यसै सन्दर्भमा स्थानीय तहको निर्वाचन, नगरको विकास र योजना लगायतका विषयमा पराजुलीसँग हामीले कुराकानी गरेका छौँ । कुराकानीको अंश मुखैमा चुनाव आयो, तपाईलाई कत्तिको लागिरहेको छ चुनाव ?
–मतदानको दिन आउन एक हप्ता मात्रै बाँकी छ । निर्वाचनको प्रचार गर्न धेरै दिन समय छैन । नगरपालिकाका १४ वटै वडाका मतदाताको घरदैलोमा पुग्ने काममा नै व्यस्त छु । विहानदेखि बेलुकासम्म निर्वाचन प्रचार र मतदाता भेटघाटमा व्यस्त छु ।
एकातिर निर्वाचनको घोषणा भएको छ । अर्कोतिर राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहेको छ । निर्वाचन हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
–बडो संसयकैबीच निर्वाचन हुँदैछ । धेरैलाई निर्वाचन नै घोषणा हुँदैन भन्ने लागेको थियो । तर, निर्वाचन घोषणा भयो । १९ गते विहानसम्म पनि निर्वाचन हुँदैन भन्ने मत निकै बलियो थियो । तर, उम्मेदवारी दर्ता भयो र दलहरु निर्वाचनमा होमिएका छन् । राष्ट्रिय राजनीति हेर्दा केही अन्योलता पक्कै देखिन्छ । तर, उम्मेदवारी नै दर्ता भइसकेको र कतिपय स्थानमा निर्विरोध चयन भइसकेको परिस्थिति पनि छ निर्वाचन रोकिँदैन । अब पनि निर्वाचन रोकिन्छ कि भन्ठान्नु आफैलाई भ्रमित बनाउनु हो । मेरो बिनम्र निवेदन छ, ‘निर्वाचन हुन्छ, सबै जना ढुक्क भएर निर्वाचनको तयारीमा जुटौं ।’
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सर्वोच्चले खारेज गरिदियो । अब सरकार ढल्छ, निर्वाचन हुँदैन र मुलूक नै अन्यौलमा जान्छ भन्ने लाग्दैन ?
–त्यस्तो हुँदैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको आ–आफ्नै क्षेत्राधिकार छ । महाअभियोगको पक्ष र विपक्षमा जनमत बाझेको छ । तर, यसै कारण सरकार ढल्ने वा निर्वाचन रोकिने कुनै सम्भावना देखिँदैन । अदालतले चाल्ने कदमका आधारमा संसद र सरकार अघि बढ्ने देख्छु म । तर, यो मुद्दाको किनारा अहिले नै लाग्ने देखिँदैन । महाअभियोग प्रस्ताव कति उचित ? सर्वोच्चको फैसला कति वैध ? यो विषयमा बहस हुँदै जाला । अनि, समस्याको निरुपण पनि हुँदै जाला । तर, यही वहसका कारण वैशाख ३१ को निर्वाचन रोकिन्छ भन्ने ठान्नु भ्रम मात्र हुन्छ ।
चौतारा साँगाचोकगढीको उपमेयरमा उम्मेदवारी दिनुभएको छ, चुनाव जित्नु हुन्छ ?
–चुनाव जित्नेमा म पूर्ण आशावादी छु, मेयर, उपमेयर लगायतका नगरपालिकाका सबै पदमा हामीले जित्छौं, निर्वाचन जित्नेमा कुनै शंका छैन ।
चुनाव जित्ने आधार के छ तपाईसँग ?
–पहिलो कुरा, हाम्रो राजनीतिक एजेण्डा नै निर्वाचन जित्ने बलियो आधार हो । सिंहदरबारमा केन्द्रित रहेको अधिकार जनताको घर आँगनमा ल्याउन माओवादीले ठूलो बलिदानी गरेको छ, ठूलो संघर्ष गरेको छ, हजारौं अभियोग र लान्छनाको सामना गरेको छ । त्यसै कारण २०७० को निर्वाचनमा पराजय समेत व्यहोरियो । आज माओवादीको एजेण्डाले जितेको छ, गाउँ नगरमा सिंहदरबार आएको छ । जनताले आफ्नो राजनीतिक अधिकार, प्राकृतिक साधन स्रोतको उपयोग, न्याय सम्पादन र समृद्धिको पूर्ण अधिकार पाएका छन् । राजनीतिक एजेण्डा नै हामीले निर्वाचन जित्ने पहिलो आधार हो ।
दोस्रो कुरा, नगरपालिकामा माओवादी केन्द्रको बलियो संगठन छ । हाम्रो पार्टी संगठन, जनवर्गीय संगठन, समर्थक समूहहरु क्रियाशील छन् । सामाजिक संरचना र विकासका काममा हाम्रो स्थापित नेतृत्व छ, पार्टीको विचार बोक्नसक्ने नेताहरुको बलियो टिम छ, निर्वाचन जित्ने यो हाम्रो दोस्रो आधार हो ।
तेस्रो कुरा, हामीसँग विकास र समृद्धिको स्पष्ट खाका र संकल्प छ । हामी नगरपालिकालाई देशकै समुन्नत र विकसित नगरपालिकाको रुपमा स्थापित गर्न चाहन्छौं । हामीसँग नगर विकासको गुरुयोजना छ । नगरको स्थानीय साधन स्रोत, करको दर र दायरा, नगरपालिकामा वार्षिक र नियमित आम्दानीको स्रोत निर्धारण, स्थानीय जनताको शेयरबाट प्राप्त पूँजीको परिचालन सम्बन्धि हाम्रो स्पष्ट खाका छ । हामी भौतिक पूर्वाधार, रोजगारी सिर्जना, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्छौं । चौतारालाई स्मार्ट सिटी, सांगाचोकलाई हरियाली नमूना शहर, नगरको सापेक्षतामा पर्यटन प्रवद्र्धन, प्राविधिक शिक्षालयमार्फत् प्राविधिक जनशक्ति उत्पादन, रोजगारी सिर्जना र प्रतिव्यक्ति आय वृद्धि, विद्यालय, कलेज, सार्वजनिक संस्थाहरुलाई अत्याधुनिक प्रविधिमैत्री बनाएर ५ वर्षभित्र चौतारा सांगाचोकगढीलाई नेपालकै समुन्नत र मानव विकास सूचाकांकमा अग्रपंक्तिमा रहेको शहरका रुपमा स्थापित गर्ने हाम्रो योजना छ । नगरको विकासबारे हामीले हाम्रो दृष्टिकोणलाई प्रतिवद्धता पत्रको रुपमा सार्वजनिक गरेका छौं । यो हाम्रो विजयको तेस्रो आधार हो ।
चौथो कुरा, हामीसँग विकास, समृद्धि र राजनीतिक सहकार्यको चेत र सहकार्य सहितको बलियो नेतृत्व र उम्मेदवारहरुको टिम छ । केन्द्रसँग बलियो पहुँच र सहकार्यको अवस्था छ । नगरपालिकाको मेयरका रुपमा हामीले स्थापित सामाजिक र राजनीतिक व्यक्तित्व कमरेड अमानसिंह तामाङलाई अघि सारेका छौं । उपमेयरमा म आफै मैदानमा छु । हाम्रा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु पनि जनताको बीचमा लोकप्रिय हुनुहुन्छ । हामीले राजनीतिक सहकार्य र सकारात्मक प्रतिस्पर्धाको संस्कार बसाल्दै छौं । यो हाम्रो विजयको चौंथो आधार हो । यिनै आधार र योजनाका साथ हामीले निर्वाचन जित्छौं ।
काँग्रेस, एमाले, राप्रपा लगायतका दलका नेताहरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ, तपाई नै नित्नु हुन्छ भन्ने के ग्यारेन्टी छ ?
– प्रतिस्पर्धामा हुने सबैले हामीले जित्छौं भन्नु स्वाभाविक हो । सुरुमै हामीले हार्छाैं भनेर कसैले पनि भन्दैन । तर, परिणाम मूख्य कुरा हो । अरु दलसँग निर्वाचन जित्ने कुनै पनि बलियो आधार म देख्दिनँ । उहाँहरुसँग राजनीतिक एजेण्डा, संगठन, विकासको मार्गचित्र, नेतृत्व र जनताको आकर्षण पनि बलियो देखिँदैन । तसर्थ, दावी गर्नु र यथार्थ धरातलमा उभिएर विश्लेषण गर्नु बिल्कूल फरक कुरा हुन् ।
मतदातालाई केही भन्नु छ ?
–स्थानीय तहको निर्वाचन नेपालकै इतिहासमा पहिलोपटक हुँदैछ । यो हिजोको जस्तो नगर पञ्चायत र नगरपालिको निर्वाचन होइन, पूर्ण अधिकारसहितको स्थानीय सरकारको निर्वाचन हो । यस निर्वाचनको परिणामले नै नगरको प्रगति र अवनतिको फैसला गर्छ । हामी राजनीतिक परिवर्तन, न्याय र समानता चाहन्छौं, विकास चाहन्छौं, समृद्धि चाहन्छौं, युवाहरुको मुहारमा मुस्कान भर्न चाहन्छौं, जनताको अनुहारमा कान्ति ल्याउन चाहन्छौं, राजनीतिक सहकार्य र एकताका आधारमा सबै दलहरुलाई मिलाएर अघि बढ्न चाहन्छौं । त्यसका लागि माओवादीलाई मतदान गर्नुस् र आफ्नो भाग्यको फैसला गर्नुस् । सबै मतदाता आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुलाई सेवाको अवसर दिनुहुन म विशेष अनुरोध गर्दछु ।