सत्तारुढ दलको ठहर : 'कार्यपालिकामाथि हस्तक्षेप भयो भनेको व्यवस्थापिकालाई पनि छाडेनन्'
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
960
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका नेताहरुबीचको बैठक सम्पन्न भएको छ । शुक्रबार साँझ भएको छलफलमा प्रधानन्यायधीस सुशीला कार्कीमाथिको महाभियोग र त्यसलाई रोक्नको लागि सर्वाेच्चले दिएको अन्तरिम आदेशको बारे छलफल भएको नेपाली काँग्रेसका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिए ।
प्रधानमन्त्रीका साथमा काँग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरु रमेश लेखक, विमलेन्द्र निधि, जनार्दन शर्मा लगायत सम्मिलित बैठकले कार्यकारिणी अधिकार माथि हस्तक्षेप भयो भनेर जनप्रतिनिधिहरुको संस्थाले चासो देखाउँदा जनप्रतिनिधिहरुको संस्थाको निर्णयलाई नै हस्तक्षेप गरिएको भन्दै न्यायालयको यो निर्णयले शक्तिपृथकीकरणको सिद्धान्त विपरित कार्य गरेको ठहर पनि गरेको विश्वकर्माले जानकारी दिए ।
सर्वाेच्चले दिउँसो सो आदेश गरेसँगै प्रमुख सत्तारुढ दल काँग्रेस र माओबादीका नेताहरु बैठकमा जुटेका हुन् । अदालतले महाभियोग प्रस्तावको विपक्षमा हुनेगरी प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव अघि नबढाउन र कार्कीलाई काममा फिर्ता गर्न आदेश गरेको हो ।