बनेपा। छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन्। ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित २२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित १७८ जना दलित महिला सदस्यले उम्मेदवार मनोनयन गरेका छन। यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन्। मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए।
प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेदवार उठाएका छन् । रासस