काठमाडौं । स्थानीय तहको निर्चाचनका मुखमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगमा चित्त नबुझेको भन्दै राजीनामा दिएका गृहमन्त्री विमलेन्द्र निधि पुनः सोही पदमा फर्किन तयार भएका छन् ।
एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएका हुन् ।
देउवा निकट काँग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले चुनावका बेलामा काँग्रेसलाई फितलो बनाउने षड्यन्त्र भइरहेका बेलामा सकारात्मक सन्देश दिनका लागि पनि निधिलाई निरन्तरता दिन आग्रह गरिएको बताए ।
उनले सम्भवतः बिहिबारै निधिले जिम्मेवारी सम्हाल्ने बताए । वरियताको विषयलाईसमेत लिएर उपप्रधानमन्त्रीसमेत रहेका निधिले मन्त्रीपरिषद बैठकमासमेत सहभागीता जनाउन छाडेका थिए ।
दोस्रो वरियता खाएका राप्रपा अध्यक्ष कमल थापाले बुधबार राजीनामा दिएपछि भने निधिले पुरानै वरियता पाउने छन् ।
नेता विश्वकर्माले उहाँ (निधि) पुनः गृहमन्त्रीमा फर्किएपछि स्थानीय तहको निर्वाचनमा पनि सकारात्मक सन्देश जाने बताए । उनले भने, ‘काँग्रेसलाई कमजोर पार्ने खेल भइरहेका छन् अब काँग्रेसीहरु मिलेर त्यसको सामना गर्नुपर्छ ।’
उनले निधिले पद सम्हाल्ने बारे सहजै भने, ‘निधिज्यूले फेरि सपथ लिनु पर्ने होइन, प्रधानमन्त्री ज्यूले अस्वीकृत गरिएको छ भनेर एउटा म्यासेज दिए पुग्छ ।’
बुधबारको छलफलमा देउवा र निधिबीच मुलुक जोगाउन र काँग्रेसलाई बलियो बनाउन पछाडि हट्न नहुनेबारे गहन छलफल भएको छ ।
निधिले राजीनामा दिएपछि गोपालमान श्रेष्ठ वा ज्ञानेन्द्रबहादुर कार्की वा रमेश लेखक वा अर्जननरसिंह केसीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन सकिने बताइँदै आइएको थियो ।