arrow

यस्तो देखियो काठमाडौँ महानगरको उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Kathmandu_candidesy.JPG

काठमाडौँ। पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । 

 

आगामी बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन आज बिहान १० बजेबाट सुरु भई ५ बजे सकिएको थियो । प्रमुख राजनीति दलसहितका अन्य दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नका लागि प्रर्दशनीमार्गस्थित राष्ट्रियसभाको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए । 


दिउँसो साना दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारहरु बाजागाजासहित आफ्नो पार्टीको झन्डा बोकी उम्मेदवारी दर्ता गराउन आएका थिए । 


सबभन्दा पहिला साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार मनोनयनका लागि निर्वाचन कार्यालयले प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि छुट्टाछुट्टै ठाउँमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो भने वडाका लागि पनि छुट्टै ठाउँमा दर्ता गर्ने व्यवस्था गरिएको थियो । 


महानगरको उम्मेदवारी स्थलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले पनि निरीक्षण गरे । निरीक्षणका क्रममा उनले देशभरि नै उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेको बताए। 

 

मनोनयन दर्ताका लागि ३ बजेपछि उम्मेदवारको भीड लागेको थियो । सबभन्दा ठूलो महानगरपालिका भएकाले पनि धेरै उम्मेदवारले मनोनयन दर्ता गराउन आएका थिए । उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको थियो । 


साँझ ६ बजेसम्म वडा अध्यक्ष र सदस्यको उम्मेदवार मनोनयन गर्न उम्मेदवारहरु लाइनमा बसेका थिए । उम्मेदवार मनोनयन गराउनका लागि सम्पत्ति विवरण पनि भर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण कतिपयलाई सम्पत्ति विवरण भर्न समस्या परेको थियो । उम्मेदवारीको फारम लिएर उम्मेदवारले बाहिर चौरमा बसेर फाराम भरेको देखिन्थ्यो । 


उम्मेदवार दर्ता गराउन सङ्घीय समाजवादी फोरमबाट तालमेल गरेका नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराउन आफैँ आएका थिए। डा भट्टराईले मुलुक निर्वाचनमा गएको भन्दै एउटै विचार मिल्ने भएकाले सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको बताए। उनले आफ्नो केही असहमति भए पनि निर्वाचनमा भाग लिएको प्रतिक्रिया व्यक्त गरे । 


संविधान संशोधन बिना देशको निकास निकाल्न नसकिने भन्दै सङ्घ, प्रदेश र स्थानिय तहको क्रमशः निर्वाचन हुनुपर्नेमा उल्टो गरि निर्वाचन गर्न थालेको बताए। संयोजक भट्टराईसंगै आएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको प्रत्यक्ष विकाससँग जोडिएकाले स्थानीय तहको निर्वाचनमा भाग लिन आएको प्रतिक्रिया दिए। 


नेपाली काँग्रेसतर्फबाट आफ्नो दाजु राजुराज जोशी प्रमुख पदका उम्मेदवार बन्नुभएकोमा उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि उनिसँगै उम्मेदवारी दर्ता स्थल सभागृहमा आइपुगेका थिए। आफ्नो पार्टीकातर्फबाट उम्मेदवार दर्ता गराउन आएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो मुख्य प्रतिस्पर्धी काँग्रेस भएको बताए । 


उनले राप्रपासँग राष्ट्रियताका सवालमा मुद्दा मिल्ने भएकाले तालमेल गरेको बताउनुभयो । काठमाडौँसँगै अन्य ठाउँ पनि राप्रपासँग तालमेल गरिने समेत जानकारी गराए । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख र उपप्रमुखमा तालमेल भए पनि छुट्टाछुट्टै रुपमा उम्मेदवारी दर्ता गराउन आएका थिए। 


एमालेका तर्फबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । नेकपा (माओवादी केन्द्र)बाट प्रमुखको उम्मेदवार बनेका सर्वोत्तम डङ्गोल आफ्ना कार्यकतासँग उम्मेदवारी दर्ता गराउन आएका थिए । ३२ वडा रहेको महानगरमा प्रमुख, उपप्रमुख वडा अध्यक्ष र चार सदस्यसहित १६२ जना निर्वाचित हुने छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ