एमालेको घोषणापत्र : यस्ता छन् १० वर्षे विकासे सपना
प्रकाशित २०७४ वैशाख १८ सोमबार
311
Shares
काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक विशेष कार्यक्रमकाबीच एमालेले आफ्नो २७ बुँदे सपनासँगै चुनावी घोषणा पत्र सार्वजनिक गरेकोे छ । उसको १० वर्षे विकासे सपनाभित्र विकसित देशका बजार प्रतिस्पर्धा गर्ने देखि नेपालीको प्रतिव्यक्ति आम्दानी १० हजार अमेरिकी डलर पुर्याउनेसम्म रहेको छ।
घोषणापत्रमा नेकपा एमालेले सरकारको नेतृत्वमा विकसित हुने अर्थतन्त्रले आत्मनिर्भतामा आधारित हुँदै आन्तरिक बजारलाई सुदृढ गर्ने लक्ष्य लिएको छ । आगामी १० वर्षभित्रमा विकसित देशका बजारमा प्रतिस्पर्धात्मक किसिमले स्थापित हुने गरी अहिलेदेखि नै निर्यात प्रवद्र्धन उद्योग व्यवसायलाई स्थापित गरिने, सुरु पाँचवर्षको अवधिमा नेपाली अर्थतन्त्रलाई प्रतिव्यक्ति आम्दानीका दृष्टिले दक्षिण एशियाको अग्रणी स्थानमा पुर्याउँने लक्ष्य आफ्नो रहेको पनि घोषणापत्रमा उल्लेख छ ।
निजी क्षेत्रमापछिल्लो समय विकसित प्रविधि र पर्याप्त साधनश्रोत साधनको व्यवस्था मिलाई आगामी १० वर्षपछि नेपाली जनताको प्रतिब्यक्ति आम्दानी १० हजार अमेरीकी डलर भन्दा माथि पुर्याउने लक्ष्य पनि एमालेले राखेको छ ।
त्यस्तैगरी, १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्ने, यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक, सुविधासम्पन्न हुने गरी विस्तार तथा स्तरोन्नती गरिने र आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक तथा हवाइ–हबका रुपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने व्यहोरा पनि एमालेको घोषणापत्रमा उल्लेख छ । १० वर्षसम्म अन्तर्राष्ट्रिय उडानका लागि ठूला वाइडबडी विमान ५० र साना न्यारो बडी विमान ५० पुर्याउने गरी अहिलेदेखि नै व्यवस्था गरिने र आन्तरिक उडानका लागि साना ठूला ५० विमान पुर्याउने व्यवस्थापन गरिने लक्ष्य पनि एमालेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका श्रोत र साधन परिचालित गरी आगामी १० वर्षमा नदी प्रवाह प्रणालीबाट १० हजार, जलाशययुक्त परियोजनाबाट २५ हजार, जैविक ऊर्जाबाट करिव १० हजार, हाइड्रोजन ऊर्जाबाट करिव १० हजार र सौर्य ऊर्जाबाट करिव २ हजार गरी जम्मा करिव ५७ हजार मेगावाट विद्युत् उत्पादन गरिने र त्यसवेलासम्म पनि गरिबीको रेखामुनि रहेका परिवारलाई आवश्यक पर्ने सम्पूर्ण विद्युत् निस्शुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।
प्रधानमन्त्री हुँदा अध्यक्ष केपी ओलीले ल्याएको पानी जहाजको विषयलार्इ नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा पनि समेटेको छ । एमालेको सरकारले आगामी १० वर्षमा सम्पन्न हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलमार्गको विकास गरी हिन्द महासगर लगायत सबै महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाजहरु सञ्चालन गर्ने बताएको छ। एमालेले अब भने संभाव्यता अध्ययनमा मात्र सीमित रहेको अवस्थालाई अन्त्य गर्दै नेपाल नदी र महासागरहरुमा नेपाली ध्वजावाहक पानी जहाज चलाउन जलमार्ग विकास गर्ने ठोस निष्कर्षमा पुगेको छ ।
एमालेले आगामी ५ वर्षमा सम्पन्न हुने गरी पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण स्थानमा केवलकार सञ्चालन गर्ने जनाएको छ । प्राथमिकताका आधारमा पहिले भिङ्ग्री–स्वर्गद्वारी, बुढानिलकण्ठ–शिवपुरी, गोदावरी–फुलचोकी, बालाजु–नागार्जुन, वाह्रवीसे–कालिञ्चोक, फुङलिङ–पाथिभरा, बिरेठाँटी–रानीपौवा, पोखरा– जोमसोम–मुक्तिनाथ, साँफेवगर–रामारोशन, मार्तडी–बडिमालिका, तमघास–रेसुङ्गा, दिपायल–खप्तड र पाँचखाल–पलाञ्चोकमा केवलकार सञ्चालन गरिने छ ।
आगामी ५ वर्षभित्र नेपालको जनसंख्या भन्दा २ गुणा बढि जनसङ्ख्यालाई खान पुग्ने कृषि उत्पादन बृद्धि गरी १सय २० लाख मेट्रिक टन प्रमाणित अर्गानिक खाद्यन्न निर्यात गरिने छ । ५ वर्षभित्र घरबारविहीन सुकुम्बासी, पूर्व कमैया–कमलरी र पूर्व हलिया, लोपोन्मूख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, राउटे, कुसुण्डा, दमाई, सार्की, कामी, आदि पछाडि परेको जातिका प्रति परिवारलाई विकसित गरिने शहरमा सुविधासम्पन्न एक घर लालपूर्जासहित नि:शुल्क उपलब्ध गराइने छ । साथै ‘एक परिवार एक रोजगार’ पहिलो वर्षमै लागु गरिने पनि एमालेले जनाएको छ ।