arrow

बैशाख ३१ मै निर्वाचन गराउन एमालेद्वारा सरकारको ध्यानाकर्षण 

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको ६३ औं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । शनिबारको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा गम्भीर विश्लेषण भएको प्रचार विभाग प्रमुख योगेश भट्टरार्इले जानकारी दिए । बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्यौल र अनिश्चिततातिर धकेल्न बिभिन्न पक्षबाट भएका षड्यन्त्रलाई असफल पार्दै घोषित २०७४ वैशाख ३१ मा नै सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

 

बैठकले व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन बिधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त बिधेयकलाई असफल पार्ने निर्णय गरेको छ । यसका लागि राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ । 

 

बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको सकेको छ । यसैगरी प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र भोलिसम्ममा त्यसलाई टुंगो लगाइनेछ एमालेले जनाएको छ। 

 

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरुको टुंगो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन भएको बतार्इएको छ। थोरै स्थानमा बाँकी रहेका उम्मेदवारहरुको चयन भोलिसम्ममा गरिनेछ । प्रदेश नम्बर ४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ  उक्त प्रदेशका बारेमा अर्को बैठकमा छलफल गरिनेछ । चयन भएका उम्मेदवारहरुलाई पार्टीका तर्फबाट उम्मेदवारहरुको प्रमाणित पत्र पठाइसकिएको छ । स्थानीय निर्वाचनको घोषणा–पत्रलाई भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ