arrow

बागलुङमा निर्वाचनको तयारी तीव्र

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
baglung_district.png

बागलुङ। स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ। गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन्। नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए। “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भने।


उनका अनुसार मतपेटिका, मतपत्र, नउड्ने मसीलगायत केही सामग्री मात्र आउन बाँकी छ। सुरक्षा प्रबन्ध र जनशक्ति व्यस्थापनको काम पनि अघि बढेको जनाइएको छ। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका एक सय ३ मतदानस्थलमा एक हजार सात सय ४६ जनशक्ति खटिने छन्। अपुग जनशक्ति स्थायी शिक्षकबाट पूर्ति गरिने अधिकारी शर्माले जानकारी दिए।


निर्वाचनमा माध्यमिक तहका एक सय ७५, आधारभूत तहबाट दुई सय ११ र प्राथमिक तहका नौ सय ५२ शिक्षक खटिने छन् । बाँकी अधिकृतस्तरका कर्मचारी एक सय ४०, सहायकस्तरका पाँच सय ८९, सहयोगी एक सय ८१ र स्वयम्सेवक पाँच सय ७५ हुनेछन्।


जनशक्ति परिचालनदेखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ। जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन्।


कार्यालयमा चाहिने कर्मचारी व्यवस्थापन भइसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासले जानकारी दिए। निर्वाचनसम्बन्धी कामकारबाही कार्यालयमार्फत सञ्चालन हुने उनको भनाइ छ। मुख्य निर्वाचन अधिकृत बेल्बासेलाई बागलुङ नगरपालिकाको निर्वाचन अधिकृतको समेत जिम्मा दिइएको छ।


यस्तै नगरपालिकाहरु जैमिनीमा विष्णप्रसाद सुवेदी, ढोरपाटनमा केदारनाथ पौडेल र गलकोटमा धर्मराज पौडेल तथा गाउँपालिकाहरु ताराखोलामा देवीप्रसाद सुवेदी र काठेखोलामा धु्रव गिरीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ। वरेङमा राजेन्द्रप्रसाद घिमिरे, बडीगाडमा रामचन्द्र शर्मा, निसीखोलामा विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकामा सुवासकुमार लामिछानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।


एक सय तीन मतदानस्थल रहेको बागलुङमा एक सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा एक लाख ५६ हजार आठ सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। तीमध्ये महिला मतदाताको सङ्ख्या ८२ हजार आठ सय ३९ छ।


निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन्। निर्वाचन प्रचारप्रसारसँगै उम्मदेवार छनोटको कसरतमा दलहरु छन्। निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ