एमालेतिर सल्किए उपेन्द्र, वैशाख ३१ को चुनाव सार्न चलखेल
सेना परिचालनको विरोध
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
658
Shares
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पहिलो चरणको मिति सारेर एकैचरणमा स्थानीय चुनाव गराउन माग गरेको छ । प्रमुख प्रतिपक्षी एमालेसँगको छलफल पछि संघीय समाजवादीले नयाँ बटमलाइन अघि सारेको हो ।
संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवका एक सहयोगिले भने, ‘अघिल्लो मिति सारेर एकै चरणमा चुनाव गर्ने विषयमा विहिबार एमाले र हाम्रो पार्टीका नेताहरुबीच छलफल भएको थियो ।’ एमालेले एकै चरणमा चुनाव गर्नु पर्ने प्रस्ताव राखेको बताइएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संघीय समाजवादीसँग भएको छलफलबारे आफुलाई धेरै जानकारी नरहेपनि विभिन्न दलहरुसँग छलफल गर्न साथीहरु खटिएका छन्, भने । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव विहिबार राति अबेरसम्म व्यस्त रहे ।
यादवका सहयोगिका अनुसार वैशाख ३१ गतेको निर्वाचन सारेर एकै मितिमा चुनाव गर्नु पर्ने प्रस्ताव एमाले नेताहरुले राखेका थिए । संघीय समाजवादी त्यसमा सहमत भयो ।
अध्यक्ष यादवले पहिलो चरणको चुनावको नतिजाले दोस्रो चरणको चुनावलाई प्रभावित पार्नसक्ने भएकाले एकैचरणमा चुनाव गराउनु पर्ने माग गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले समेत हाम्राकुरासँग त्यही धारणा राखे । नेम्बाङले अझै एकै चरणमा निर्वाचन गर्न सकिने बताए । उनले भने, ‘उदी दुई चरणमा गर्नु पर्ने अवस्था आए एकै चरणमा मत गणना गरिनु पर्छ ।’
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले ‘स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्नुका साथै सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने हुँदा मिति सारेर एकै पटकमा मत गणना हुने गरी एक चरणमा चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै दुई चरणको निर्वाचन प्रक्रियाप्रति हाम्रो आपत्ति छ, भनेका छन् ।
सेना परिचालनको विरोध
संघीय समाजवादी फोरमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी स्थानीय चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
सरकारले विगतको प्रचलन अनुसार स्थानीय तहको चुनावमा चारवटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ जसमा सेना सबैभन्दा बाहिरी घेरामा रहनेछ । विज्ञप्तिमा देशको आन्तरिक मामिलामा सेना परिचालन गर्दा सेनाको गरिमा र प्रतिष्ठामा आँच पुग्न जिकिर गरिएको छ ।
‘नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने भएकोले सेनाको भूमिकालाई विवादित हुन नदिन स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै स्थानीय तहको चुनावमा नेपाली सेना परिचालनको निर्णय तत्काल फिर्ता लिन सरकारसँग संघीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।’