निर्वाचन आयोगको कलसेन्टर र मोवाइल एप सञ्चालनमा, के के पार्इन्छ सुविधा ?
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
787
Shares
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । आयोगमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कलसेन्टर र मोवाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचन सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगले संचालनमा ल्याएको मोवाइल एप्पबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताए।
उनले आयोगले संचालनमा ल्याएको कलसेन्टर र मोवाइल एप्पको प्रभावकारी संचालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिए । निवार्चन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले संचालनमा ल्याएको एप्पबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने बताए ।
स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोवाइल एप्प सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारबालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्वरबाट तत्काल प्राप्त हुने छ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्वरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।
कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । इसीएन एप्प आयोगको वेभसाइट वा मोवाइलको प्लेस्टोर वा एप्पल मोवाइलको एप्प स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिने छ । कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली उपस्थिति थियो ।