दोस्रो चरणको निर्वाचन र मुस्लिमको मागबारे सरकार गम्भीर बन्नै पर्छ : ओली
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
187
Shares
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले समुदायका समस्याबारे जानकारी गराएको छ । गठबन्धनका संयोजक समीम अन्सारी नेतृत्वको टोलीले संविधान संशोधनमा मुस्लिम समुदायको उच्चारणसमेत नभएको भन्दै ध्यानाकर्षण गराएको हो ।
पत्रमा आगामी जेठ १५ देखि रमजान पर्व सुरु हुने हुँदा दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गरिएमा सो समुदाय मतदानमा सहभागी हुन नसक्ने भएकाले त्यसको विकल्प खोज्न आग्रह गरिएको छ ।
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले मुस्लिम समुदाय रमजानमा रहेका बेला चुनावको मिति घोषणा गरेमा उनीहरू मतदानबाट बञ्चित हुने हुँदा सो विषयमा संवेदनशील बन्न सरकारलाई अनुरोध गरे ।
मुलुकमा पाँच प्रतिशतभन्दा ठूलो सङ्ख्यामा रहेका मुस्लिम समुदायलाई मतदानबाट बञ्चित गर्न नहुने बताउँदै अध्यक्ष ओलीले भने, ‘धार्मिक आस्थासँग जोडिएको विषयलाई हल्कारुपमा लिनु हुँदैन, पानी पनि नखाई ब्रत बसेका मुस्लिम समुदाय मतदानमा सहभागी हुन सक्दैनन् ।” सो समुदायले एक महिनासम्म चल्ने रमजानमा बिहानदेखि साँझसम्म पानी पनि नखाई निराहार ब्रत बस्ने गर्दछन् ।