मधेसको असन्तुष्टी वेलायती संसदसम्म पुग्यो, नेपाललाई दबाब दिन प्रस्ताव
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
164
Shares
काठमाडौं । नेपालको मधेस समस्याबारे बेलायती संसदले चासो देखाएको छ । बेलायतकी सांसद् एन क्लाउडीले मधेस समस्या समाधानमा दबाब दिन भन्दै बेलायती संसदमा प्रस्ताव नै दर्ता गराएकी छन् । उनले संविधान संशोधनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै त्यहाँको संसदमा प्रस्ताव दर्ता गराएकी हुन् ।
सांसद क्लाउडीले बिहिबार उक्त प्रस्ताव बेलायती संसद्मा दर्ता गरिन् । लेबर पार्टीकी सांसद क्लाउडीले दर्ता गरेको प्रस्तावमा चुनाव अघि नै संविधान संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि नेपाल सरकारलाई आग्रह गरिनुपर्ने माग गरिएको छ ।
मधेसमा ३३ प्रतिशत जनसंख्याको अनुपातमा रहे पनि उनीहरु सरकारी सुविधा र अवसरहरुमा १२ प्रतिशत स्थानमा प्रनिधित्व गर्ने गरेको प्रस्तावमा उल्लेख गरिएको बताइँदैछ । प्रस्तावमा स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभए तराई क्षेत्रमा अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइनै रहनेछन् भनिएको छ ।
यस्तै, मधेसमा अत्याधिक बल प्रयोग भएको विषय पनि क्लाउडीले उठाएकी छन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते भएको प्रस्तावमा उल्लेख गरेकी छन् । एमालेको मेची–महाकाली अभियानका क्रममा तराईमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा पाँच जनाको मृत्यु भएको थियो ।
तराई मधेसमा यस्तै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव सांसद क्लाउडीले गरेकी छन् । उनले नेपाल सरकारलाई हिंसाका घटनाहरुको छानविन गर्न आग्रह समेत गरेकी छन्, भने बेलायत सरकारलाई पनि नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि अनुदान र सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुकुल भए नभएकोबारे ध्यान दिन सुझाव दिएकी छिन् ।
सांसल क्लाउडीले नेपालमा दुई दशकपछि हुन गइरहेको स्थानीय चुनावले लोकतन्त्र बलियो बनाउने आशा गरेकी छन् । एक महिनाअघि बेलायत गएका अधिवक्ता दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै नेपालमा मधेस आन्दोलन चलिरहँदा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग हुँदा मानव अधिकार हनन भएको विषय उठाइदिन अनुरोध गरेका थिए ।