बाजुरा । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् । संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन्। स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनार्इ छ ।
यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किएका हुन् । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएका हुन्। “वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भने। लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन्।
ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गएका हुन्। उनीहरु स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएका छन् । “मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भने ।
बेतालमाडौं स्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार÷पाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताए । “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस