arrow

मधेसी मोर्चालाई मनाउन बैठकमाथि बैठक

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
baluwatar_baithak.jpg

काठमाडौं । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा ल्याउन सत्तारुढ दलहरुले बैठकमाथि बैठक राखेका छन् । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको एक चरणको बैठक सकिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुन मोर्चाका नेताहरुलाई आग्रह गरे । मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचन भन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारले दर्ता गरेको संशोधन विधेयकमा पुनःविचार गर्न सरकारसँग अनुरोध गरे ।

प्रधानमन्त्री दाहालले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुन बैठक बसेर सहमतिको प्रयास गर्ने बताए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका फेरि ५ बजे सरकार र मोर्चाबीच पुन बैठक बस्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागि भए । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन् । उनको दलबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागि भए ।


मोर्चा नेताहरु भन्छन्–सहमतिका लागि अन्तिम मौका
मधेसी मोर्चाका नेताहरुले सहमतिका लागि यो अन्तिम मौका भएको बताएका छन् । मोर्चा नेताहरुले शनिबार आफुहरु विरोध कार्यक्रमका लागि मधेस झर्ने भएकाले सहमतिका लागि यो अन्तिम मौका भएको बताएका हुन् । मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने, ‘यो अन्तिम मौका हो । हाम्रो कार्यक्रम भएकाले यो छलफलमा केही भएन भने कार्यक्रमका लागि मधेसतिर जान्छौं ।’ पूर्व घोषित कार्यक्रम अनुसार मधेसी मोर्चाका नेताहरु शनिबारदेखि जिल्लातिर जाँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ