वीपी र पुष्पलालका पुर्ख्यौली घरमा संग्रहालय र हरियाली पार्क बनाइने
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
298
Shares
काठमाडौं । नेपाली राजनीतिका शिखरपुरुष विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठका पुर्ख्यौली घरहरू रहेको स्थानमा अब हरियाली पार्क र संग्रहालयमा बनाईने भएको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बैशाख ७ गतेको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव प्रस्तुत गरी निर्णय गराएका हुन् ।
बीपीको पुर्ख्यौली घर सिन्धुली जिल्लास्थित दुम्जा–धरनीडाँडा, सुनकोशी गाउँपालिका र पुष्पलालको जन्मस्थल रामेछाप जिल्लास्थित रामेछाप नगरपालिका वडा नं। ८, भँगेरीमा वातावरणमैत्री स्वच्छ, सफा र हरित सहर निर्माण गर्ने सहरी नीति र बहुवर्षीय योजनाअनुरुप एकएक वटा हरियाली पार्क निर्माण गर्ने र बीपीको पुर्ख्यौली गाउँमा एक संग्राहालय समेत निर्माण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।
त्यस प्रयोजनका लागि दुवै राजनेताहरूको स्मृतिमा जग्गा अधिग्रहण, सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका लागि ५० लाखका दरले १ करोड विनियोजन गर्ने समेत उल्लेख छ । दुवै स्थानमा निर्माणको कार्य यही आर्थिक वर्षदेखि नै प्रारम्भ हुनेछ ।