लाउडा विमान भाडा प्रकरण : पूर्ण इजलासबाट सुनुवाइ हुने
प्रकाशित २०७४ वैशाख ६ बुधबार
473
Shares
काठमाडौँ । सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले बुधबार पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।
लाउडा विमान भाडा प्रकरण फैसलाको अन्तिम चरणमा रहेका समय सर्वोच्च अदालतका न्यायाधीशद्वय खतिवडा र घिमिरेबीच राय बाझिएपछि पुनः पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । न्यायाधीश खतिवडाले विशेष अदालतले सो काण्डमा आरोपितलाई दिइएको सफाई उल्टाउनुपर्ने राय दिएका छन् भने न्यायाधीश घिमिरेले विशेषको फैसला सदर गर्नुपर्ने राय दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालमा नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ, पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभाग निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले लाउडा एयरका दुई अधिकारीलाई विपक्षी बनाएको थियो भने अख्तियारले उनीहरुसँग ३८ करोड ९७ लाख बिगो माग दाबी गरेको थियो । यसअघि, विशेष अदालतले माग दाबी नपुग्ने भन्दै सबै आरोपितलाई सफाइ दिएको थियो ।
विशेषको पूर्ण पाठ आएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले विशेषको फैसला त्रुटिपूर्ण भएको भन्दै आरोपित सबैमाथि भ्रष्टचारको अभियोगमा कारबाही गर्नुपर्ने माग दाबी गरेको छ । रासस