काँग्रेसमा उठ्यो चुनाव सार्ने कुरा, ‘१० दिन सारेर बरु एकै चरणमा गरौँ’
प्रकाशित २०७४ वैशाख २ शनिबार
287
Shares
काठमाडौं । स्थानीय तहको निर्वाचन आउँन मात्र २९ दिन बाँकी रहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र निर्वाचन सार्ने विषयमा बहस भएको छ ।
स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रिय सदस्य, सांसद र जिल्ला सभापतिहरुबीच शनिवार पार्टी कार्यालय सानेपामा भएको छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउनु पार्टी र मुलुक दुबैका लागि हित हुने बहस छेडेका हुन् ।
बैठकमा सहभागि धनुषा –२ का सांसद रामकृष्ण यादवले हाम्राकुरासँग भने, 'पार्टी सभापतिहरुले संविधान संशोधन विधेयक अघि बढाएर मधेसी मोर्चालाई पनि साथमा लैजानु पर्छ भन्ने धारणा राख्नु भयो । बरु केही दिन चुनाव सारेर भएपनि समस्या समाधान गरेर मात्रै चुनाव गरौँ भन्ने उहाँहरुको राय हो ।’ सांसद यादवका अनुसार जिल्ला सभापतिहरुले एकै चरणमा चुनाव गरौँ, तर समस्या समाधान गरेर जाऔँ भनेका छन् ।
प्रदेश २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन १० दिन पछि सारेर भएपनि समस्या सधाना गरेर मात्रै चुनावमा जानु राम्रो हुने भन्दै नेतृत्वलाई सुझाएका हुन् । सांसद यादवले भने, ‘चुनाव एकै चरणमा गरौँ । सवैलाई मिलाएर लैजाऔँ भन्ने उहाँहरुको भनाई हो ।’ मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउन आवश्यक परे १० दिन पछि निर्वाचन गर्न पनि पार्टी नेतृत्व तयार हुनुपर्ने प्रदेश २ का जिल्ला सभापतिहरुको धारणा छ ।
नेपाली काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन् । काँग्रेसले मधेस रणनीति बनाउन डाकेको बैठकमा जिल्ला सभापतिहरुले राखेको धारणाका विषयमा सांसद र केन्द्रीय नेताहरुले बहस गरिरहेका छन् । सरकारमा रहेका माओवादी केन्द्रसहितका केही दलले निर्वाचन कुनै पनि हालतमा नसर्ने र वैशाख ३१ मा हुन नसकेका जिल्लामा अर्को चरणमा गर्न सकिने धाराणा राख्दै आएका छन् ।