arrow

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

अपसगुन र अनिष्टको सङ्केत

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
bisket_jatra.jpg.jpeg

भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र उनको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए । 

लिङ्गो भाँचिएर घाइते भएलगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको थियो । 

घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती रहेको उनले जानकारी दिए । 

बिहीबार साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजासहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो । 

लिङ्गो भाँचिएपछि स्थानीयले राति १० बजे अर्को लिङ्गो ठड्याएका छन् । 

स्थानीयका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रुपमा लिने गरिएको छ । 

गुठी संस्थान भक्तपुरले लिङ्गो भाँचिएमा अर्को लिङ्गो उठाउनका लागि विकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । 

लिङ्गो भक्तपुरको चित्तपोलस्थिल सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याउने गरिन्छ । 

चैत मसान्तको दिनमा लिङ्गो उठाएर भोलि नयाँ वर्षदेखि भव्य बिस्केट जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने परम्परा छ । 

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ