सिराहामा भीषण आगलागी, ४० घर जलिसके, स्थिती नियन्त्रण बाहिर
प्रकाशित २०७३ चैत २८ सोमबार
882
Shares
लहान । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा साेमबार साँझबाट सुरु भएको भीषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ ।
स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगलागीमा २५ परिवारको ४० घर जलेर नष्ट भइसकेको र आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए ।
आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताए। साँझ ५ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।
आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनै पनि बारुणयन्त्र आईनपुगेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय रामानन्द यादवले बताए। रासस