arrow

सगरमाथा चढ्न आरोहीको ताँती, २० समूह आधार शिविरमा 

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
mount-everest-home.jpg.jpeg

सोलुखुम्बु । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । 

तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । 

ती हिमाल आरोहणमा जानेको लगत एसपिसिसीले राख्दै आएको छ । 

ल्होत्से र न्युह्त्से हिमाल आरोहण गर्नका लागि पनि सगरमाथाको आधार शिविर हुँदै क्याम्प थ्रीसम्म एउटै बाटो भएर जानुपर्दछ । 

सगरमाथा आधार शिविरमा यतिबेला विभिन्न समूहका आरोही, उचाइको कामदार, क्लाइम्बिङ शेर्पालगायत चार सयभन्दा बढी मानिसको चहलपहल रहेको अधिकृत राईले बताए । 

सगरमाथालगायत खुम्बु क्षेत्रमा रहेका अन्य हिमाल आरोहण गर्नका लागि एसपिसिसीमा आरोहीको नाम, आरोहणका लागि लैजाने सामान दर्ता गरेर जानुपर्दछ । 

हिमाल आरोहण गरेर फर्किंदा आपूmले प्रयोग गरेका सामान एसिसिसीको कार्यालय नाम्चेसम्म ल्याउनुपर्ने प्रावधान रहेको छ । 

आरोहीले जथाभावी फोहोर गर्न थालेपछि आरोहणका लागि लगिएको सामान प्रयोग गरिसकेपछि पुनः एसपिसिसीको कार्यालय नाम्चेबजारसम्म ल्याउनुपर्ने प्रावधान कडाइका साथ लागू गरिएको अधिकृत राईले बताए । 

सगरमाथा अरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आइसफल हुँदै क्याम्प टू सम्मको बाटो बनाउने काम सकिएको छ ।

गत यामको तुलनामा यस वर्ष एक हप्ताअगाडि नै क्याम्प टूसम्मको बाटो बनाउने काम सकिएको थियो । 

एसपिसिसीका आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि क्याम्प टूसम्मको बाटो बनाउने काम सके पनि त्यो बाटोलाई निरन्तर सरसफाइ गरिरहने छन् । 

बनाइसकेको बाटोमा स–साना हिउँपहिरो झरिरहनाले पनि आधार शिविरदेखि क्याम्प टूसम्मको बाटोमा आइसफल चिकित्सकले दैनिकरुपमा बनाइरहनुपर्ने एसपिसिसीका बेसक्याम्प म्यानेजर छिरिङतेन्जिङ शेर्पाले बताए । 

सन् २०१४ मा खुम्बुआइसफलको कुनाबाट बाटो बनाइएकामा हिमपहिरो झर्दा १६ आरोही तथा उचाइका कामदार (हाइअल्टिच्युड वर्कर) ले ज्यान गुमाएका थिए । 

त्यसैले गत वर्षदेखि आइसफलको बीचबाट बाटो बनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ