मन्त्रिपरिषद् बैठकको हल्ला, निधिको नाममा त्यसै चर्चा
प्रकाशित २०७३ चैत २७ आइतबार
2.3k
Shares
काठमाडौं । उपप्रधानमन्त्रीको वरियता विवाद टुंगो नलागेका कारण आइतबार सम्भावित मन्त्रिपरिषद् बैठक टरेको छ । उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधि मध्ये कुन अगाडि हुने भन्ने विषयको टुंगो नलाग्दा लामो समयदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।
आइतबार बैठक बस्ने नै भनेर तय भएको थिएन, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सम्भावना रहन सक्छ भनेका थियौँ । तर, आइतबारको मन्त्रिपरिषद् बैठक विमलेन्द्र निधिले बहिस्कार गर्ने भएपछि स्थगित गरियो भन्ने हल्ला चल्याे । बैठकको कुनै कार्यसूची बनेको थिएन ।’ हुँदै नभएका कुराहरु गरिदिनु भएन ।
प्रेस सल्लाहकार आचार्यका अनुसार मन्त्रिपरिषदबाट अघि बढाउने भनिएको नयाँ संशोधन प्रस्तावबारे सरोकारवालासँगको छलफल नसकिएकाले बैठक बस्न ढिलाई भएको छ । उनले भने, ‘सोमबार बस्ने सम्भावना बढी छ । सोमबार र विहिबार प्राय नियमित बैठक बस्ने गरेको छ ।’
चैत ३ गतेदेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन । आइजीपी नियुक्ति, चुनावको सुरक्षा व्यवस्थापन जस्ता महत्वपूर्ण एजेन्डाबारे छलफल गर्नु पर्ने भए पनि उपप्रधानमन्त्रीको वरियता विवादले मन्त्रिपरिषद् बैठक नै बस्न नसकेपछि विषयहरु थुप्रिएका छन् ।
प्रधानमन्त्री दाहालले अबको मन्त्रिपरिषदबाट पारित गर्ने गरी पुरानो चार बुँदे संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर पाँच बुदे नयाँ प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले नयाँ संशोधनबारे कानुनमन्त्री अजयशंकर नायकसँग छलफल गरिसकेका छन् भने, विपक्षी दल र अन्य सरोकारवालासँग छलफल भइरहेको बताइएको छ ।