arrow

प्रचारप्रसार छाडेर दलहरु गुटगत भीडन्ततिर

स्याङ्जामा कुन कुन पार्टीबीच हुँदैछ गठबन्धनको तयारी ?

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत २७ आइतबार
Syangja_district_map.png

स्याङ्जा । बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जानेक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ठूला पार्टीमा उम्मेद्वारका आंकाक्षीको लर्को लागेको छ । झण्डै २० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा जिम्मेवार बहन गर्नबाट बञ्चित भएकाहरुले मेयर र उप–मेयरमा आफ्नो उम्मेद्वारी पेश गर्दा ठूला पार्टीमा आंकाक्षीको लर्को देखिएको हो ।

स्थानीय तह अन्र्तगत स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका निर्धारण गरिएको छ । स्याङ्जामा गाँउपालिका भन्दा पनि नगरपालिकामा मेयर र उपमेयरको पदमा बढी हानथाप हुन थालेको छ । जसका कारण नेतृत्वलाई कसलाई उम्मेदवार बनाउदा आफ्नो पाटीले जित्छ भन्ने आंकल गर्न सकेका छैनन् ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको तुलनामा नगरपालिकाको मेयर र उप–मेयरमा उच्च पद मानिएका कारण दलभित्र जोडघटाउ शुरु भएको छ । तीन ठुलादल मध्ये स्याङ्जामा काँग्रेस र एमालेमा बढी गुटबन्दीको राजनीति हावी हुन थालेको छ । एमालेमा भन्दा अझ बढी काँग्रेसमा गुटबन्दी देखिदै जान थालेको छ ।

काँग्रेसमा बरिष्ठ नेता रामचन्द्र पक्षधरको केन्द्रबाट कुनै सहयोग नभएको र सभापति शेरबहादुर पक्षधरमा पनि दुई खेमा गोपालमान श्रेष्ठ र जिल्ला पार्टी सभापति कमलप्रसाद पंगेनीको आन्तरिक लडार्इँका कारण गुटबन्दीको राजनीति चरम देखिन थालेको कार्यकर्ताहरु बताउछन् ।

काँग्रेसका कार्यकर्ताहरु राम्रा भन्दा पनि हाम्रा उम्मेदवार बढी छनोट हुने भयो भन्दै निरासामा देखिएका छन् भने एमालेमा भने अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको बराबरी प्रभाव जिल्लामा देखिएकाले गुटबन्दीको लडाई खासै बाहिर आएको छैन । माओवादी भने पहिलोपटक स्थानीयतहको निर्वाचनमा भाग लिने भएकाले खासै गुटबन्दीको भन्दा पनि कसरी मत आफुतिर तान्न सकिन्छ भन्नेमा मात्रै लागेको छ ।

०५४ सालको निर्वाचनमा एक नगरपालिका सहित अधिकांश गाविसमा एमालेले विजय हाँसिल गरेको थियो भने काँग्रेसले एक नगरपालिका सहित थोरै गाविसमा जित्न सफल भएको थियो । तर संघीय लोकतान्त्रिक संविधान निर्माण भएसँगै स्याङ्जामा ५ नगरपालिका र ६ गाँउपालिका निर्माण भएका छन् । केही सबै गाविस मिलाएर र केही गाविसका वडा फुटाएर बनेका नगरपालिका र गाँउपालिकामा कुनदलले मुख्य पदमा बाजी मार्न सक्छन् भन्ने विषय भने गाह्रो देखिएको छ ।

विवादलाई मिलाउन सकेमा स्याङ्जामा काँग्रेस बलियो देखिएको छ । तर उम्मेदवार छनोटमा राम्रा भन्दा पनि हाम्रा छनोट हुने प्रक्रियामा काँग्रेस पुग्यो भने एमालेको भाग्य बलियो देखिने निश्चित छ । जिल्लामा सबै भन्दा बढी प्रतिस्पर्धा काँग्रेस एमालेमा देखिएको छ ।

अहिलेसम्म सत्तासिन पार्टी राप्रपाले र अन्य सानादलले नगरपालिकाको हकमा कुनै उम्मेदवार बाहिर ल्याउन सकेका छैन । करिव दुईलाख मतदाता रहेको स्याङ्जामा कुनदलले स्थानीय तहमा बाजी मार्नेछ भन्ने समय कुर्न जेष्ठको पहिलो साता कुनुपर्ने हुन्छ ।

चुनावी प्रचार प्रसारलाई ठुला र सानादलले तिब्रता दिएका छन् । घरदैलो देखि टोल टोल र केन्द्रमा भेटघाट तथा चुनावी सभा दलहरुले गर्दै आएका छन् । चुनावी प्रचार प्रसारले स्याङ्जामा चुनावको माहोल तताएको छ । कहिलै जनताको घरदैलोमा पुग्न नसकेका नेताहरु यतीबेला भने जनताको घरदैलोमा पुग्न थालेका छन् ।

को को छन् त उमेदवारमा चर्चा
दलभित्रको आन्तरिक प्रतिस्पर्धामा पुतलीबजार नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसमा तुल्सीराम रेग्मी, दीपक लम्साल, तुलसी गिरि, कुमार राना, भरतप्रसाद लम्साल, श्रीराम उपाध्याय, बेदप्रसाद दोरङ्गा, कृष्णप्रसाद अर्याल, पृथ्वी पोख्रेलको बढी चर्चा छ । रेग्मी, लम्साल र गिरि मध्ये एक मेयरको उम्मेद्वार हुने प्रायः निश्चित रहेको काँग्रेस श्रोतले जनाएको छ । रेग्मी क्षेत्रीय सभापति, गिरि महासमिति र लम्साल महाधिबेशन प्रतिनिधी हुन् ।

काँग्रेस श्रोतले दिएको जानकारी अनुसार उप–मेयर पदमा महिलाका तर्फबाट देबी अर्याल, हिरादेबी शर्मा, निर्मला लम्साल, तारा मल्ल, मखमली श्रेष्ठ र रमणी गुरुङ्को चर्चा भएपनि महासमिति सदस्य अर्याल र शर्मा द्धयमध्ये एक उप–मेयरको उम्मेदवार बन्ने पक्का छ ।

नेकपा (एमाले) मा मिनप्रसाद गुरुङ्, नारायण मरासिनी, सिमा क्षेत्री मेयर पदका आकांक्षी हुन भने उप–मेयरमा महेश पुरी, तारा शर्माको चर्चा उत्तिकै छ । गुरुङ् पार्टी अध्यक्ष हुन् भने मरासिनी २०५४ मा पुतलीबजार नगरपालिकाका उप–मेयर तथा हाल प्रदेश नं. ४ का सदस्य र क्षेत्री जिल्ला कमिटी सदस्य हुन् ।

नेकपा (माओवादी केन्द्र) मा नगर क्षेत्रमा प्रभावशाली राजनीतिज्ञ नभएपनि नारायण लम्साल, संघ ताम्राकार, अमृता अर्याल र हुमबहादुर कुमाल मध्येबाट मेयर र उप–मेयर पदका आकांक्षी हुन् । काँग्रेस र एमालेबाट उम्मेदवार बन्न नपाएको भित्री सहानुभूती लिएर मत संख्या बढाउने तथा तालमेल गर्न पाएको खण्डमा केन्द्रले वडा अध्यक्ष र सदस्यमा चित्त बुझाउने छ ।

काँग्रेस बहुल नगरका रुपमा परिचित भीरकोट नगरपालिकाको मेयरमा काँग्रेसबाट छायाँराम खनाल, तोयनाथ अर्याल, देबी प्रसाद अर्याल र दिपेन्द्र के.सी.को चर्चा छ भने उप–मेयरमा सिमा क्षेत्री कर्माचार्य बन्ने निश्चित जस्तै छ । खनाल नेता गोपालमान श्रेष्ठ निकटका हुन् भने तोयनाथ अर्याल पार्टी सभापति कमलप्रसाद पंगेनी निकट मानिन्छन् ।

त्यसैगरी एमालेबाट दुर्गादत्त भुषाल र सन्तोष के.सी. को मेयरमा चर्चा छ भने उप–मेयरमा महिला उम्मेद्वार तय गर्न हम्मेहम्मे परेको छ । माओवादी केन्द्रबाट चन्द्रबहादुर रोकाहा र मिनप्रसाद कोइरालाको चर्चा छ । भीरकोट नगरमा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने आन्तरिक तयारी थालेको श्रोतले जनाएको छ ।

यसअघिको स्थानीय निकायको निर्वाचनमा काँग्रेसले जित हात पारेको वालिङ नगरपालिकामा काँग्रेसबाट कल्पना तिवारी, दीलिपप्रताप खाँण, अर्जुनप्रकाश अर्याल, केदार काफ्ले र मुक्तिप्रसाद सुवेदी, विष्णु पौडेल, सरस्वती तिवारी,अर्जुन काफ्ले मेयर पदमा आंकाक्षी हुन् भने उप–मेयरमा कविता गैह्रे, विद्या श्रेष्ठ, शोभा गैह्रे र युगमाया पंगेनीको चर्चा छ ।

पूर्व उप–मेयर बनिसकेका खाँणलाई मेयर र कल्पना तिवारीलाई उप–मेयर बनाउनु पर्ने पार्टीमा दबाब आएको काँग्रेसले जनाएको छ ।

नेकपा एमालेका तर्फबाट वालिङमा पद्मा अर्याल, कृष्ण खाँण, मोहन रेग्मी, पुन्यप्रसाद अर्याल र उदयबहादुर श्रेष्ठको मेयरमा चर्चा चलेपनि नयाँ मापदण्डलाई आधार बनाएर पद्मा अर्याल केन्द्रीय सदस्य र खाँण संविधान सभाको दोस्रो निर्वाचनमा पराजित भएका हुनाले उपल्लो पदमा पठाउने योजना सहित मेयरमा मोहन रेग्मी र उप–मेयरमा खगिसरा थापालाई उम्मेद्वार बनाउने तयारी थालिएको एमाले श्रोतले जनाएको छ ।

वालिङमा माओवादी केन्द्रले प्रकाश न्यौपाने, हुमबहादुर गुरुङ्, नित्यानन्द तिवारी, र कल्पना अर्याल मध्ये मेयर र उप–मेयरको उम्मेद्वार बन्ने निश्चित छ । माओवादी केन्द्रले वालिङ नगरमा जुन पार्टीले धेरै पद दिन्छ उसैसँग चुनाबी तालमेल गर्ने रणनीति अख्तियार गरेको केन्द्र श्रोतले जनाएको छ ।  

गल्याङ् नगरपालिकामा काँग्रेसबाट लालगोपाल अर्याल, ध्रुवशर्मा पंगेनी, श्याम प्रसाद बश्याल, गुरुप्रसाद भट्टराई र महेन्द्र श्रेष्ठ मेयरका आकांक्षी हुन् भने उप–मेयरमा खगिसरा भण्डारी प्रमुख दाबेदार छन् भने हेमा न्यौपाने, सीता डुम्रे, विष्णुमाया सारुको पनि उत्तिकै चर्चा रहेको छ । एमालेबाट भुपराज अधिकारी, रामबीर गुरुङ् मध्ये एक मेयर र उप–मेयरमा धनमाया वि.क. लाई उम्मेद्वार बनाउने तयारी गरिएको एमालेले जनाएको छ ।

शिक्षक पेशामा क्रियाशिल अधिकारी एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । माओवादी केन्द्रले गल्याङ्मा नरबहादुर राना, लोकेन्द्र थापा र टेकनाथ न्यौपानेलाई मेयर बनाउने तयारी थालेपनि उप–मेयरमा महिला अभाब भएपछि अन्य पार्टीसँग तालमेल गर्ने तयारीमा रहेको छ ।

काँग्रेसबाट चापाकोट नगरपालिकामा मेयर पदका लागि शिव कुमार गिरि, भगवतप्रकाश मल्ल, रामचन्द्र पंगेनीको चर्चा भएपनि पार्टीमा लामो समयदेखि पद बिहीन र संघषशिल बनाएका कारणले गिरि मेयर र विमला श्रेष्ठ र गायत्री आचार्य मध्येबाट एक जनालाई उप–मेयर बनाउने आन्तरिक तयारी गरिएको छ ।

चापाकोटमा एमालेका तर्फबाट रामचन्द्र भट्टराई, सोभियत ढकाल र डा. बुद्धिमान श्रेष्ठ मेयरका आकांक्षी हुन् भने सरस्वती भट्टराई उप–मेयरको उम्मेद्वार बन्ने निश्चित छ । माओवादी केन्द्रबाट चापाकोटमा बद्री डोटेल, राजु कोइरालाको सम्भावना रहेपनि खास्सै मतसंख्या नरहेका कारण अन्य पार्टीबीच सहकार्य गर्ने गृहकार्य थालिएको माओवादीले जनाएको छ ।

स्याङ्जाका ५ नगर मध्ये साविकको पुतलीबजार एमाले पकड नगरका रुपमा लिइए पनि नयाँ गाभिएका गाविस काँग्रेस बाहुल्य क्षेत्र रहेकाले एमालेको तुलनामा काँग्रेस बलियो मानिन्छ । भीरकोट काँग्रेस पकड नगर हो भने वालिङमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । गल्याङ् एमालेको प्रभाब रहेको नगर हो भने चापाकोट काँग्रेस बहुल नगर हो । राजनीतिकदलका कार्यकर्ताले हाम्रा भन्दापनि राम्रा उम्मेदवार छनोट गर्न नेतृत्वलाई सुझाव दिदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ