बागलुङ । बागलुङ जिल्लाको सदमुकाममा रहेको एक घरमा मंगलबार राति आगलागी भएको छ । बागलुङ बजारको लोकतान्त्रिक चोकमा रहेको बानपा–३ (साविक ५ खहरे निवासी) लालबहादुर केसीको घरमा राती करिब सवा दश बजेको समयमा आगलागी भएको हो । आगलागीबाट सो घरमा रहेका गलकोट नगरपालिका (मल्म) का राजु थापाले सञ्चालन गरेको माछापुच्छ्रे होटल, बानपा–२ भरत श्रेष्ठले सञ्चालन गरेको धौलागिरि फार्मेसी र बानपा–६ (साविक ९) लहरेपीपलका सुरज श्रेष्ठले सञ्चालन गरेको सुदर्शन इलेक्ट्रोनिक्स पसलमा क्षति भएको छ ।
औषधी पसल, मोबाईल पसल र होटलमा गरी करिब ७० लाख भन्दा बढिको क्षति अनुमान गरिएको भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मोबाईल पसलबाट सल्किएको आगो आडैमा रहेको औषधी पसल र होटलका केही सामाग्रीहरु जलेर नष्ट भएका छन । होटलमा बसेका पाहुना, स्थानीय वासिन्दा र प्रहरीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । आगो शुरु हुँदासाथ होटल सञ्चालक लगायत पाहुनाहरु बाहिर निस्केकाले मानवीय क्षति हुन पाएन ।