काठमाडौं । मुग्लीन नारायणगढ सडक खण्ड स्थित चितवनको कविलास घुमाउने भन्ने ठाउँमा गएको सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । विहान साढे १० बजेतिर भएको दूर्घटनामा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकमध्ये एकजनाको मात्रै पहिचान हुन सकेको छ । ज्यान गुमाउने मोटरसाईकल चालक लमजुङ सुद्ददर बजार घर भएका अन्दाजी ४० वर्षीय रेश राज राना छन् । अर्का मृतक ट्याङ्करका सहचालकको नाम पहिचान हुन सकेको छैन । अहिले सो बाटो एकतर्फी सञ्चालनमा ल्याईएको पनि प्रहरीले जनाएको छ । पहिरोपछि अहिलेसम्म बाटो पूर्ण रुपमा बन्द थियो ।
पहिरोमा परी बा १० प ४८४४ नम्बरको मोटरसाईकलका चालक उनको सनाखत भईनसकेको प्रहरीले जनाएको छ । सोही मोटरसाईकलमा सवार अर्का एकजनालाई भने उपचारको लागि भरतपुर अस्पतालमा पठाईएको छ । त्यस्तै, ना ४ ख ५४१९ नम्बरको ट्याङ्कर चालक पनि गम्भीर घाईते भएका छन् । प्रहरीका अनुसार उनको पनि सनाखत हुन सकेको छैन भने थप उपचारका लागि उनलाई पनि भरतपुर अस्पताल पुर्याईएको छ ।
उता, रा १ ख ७८९ नं को मिनिट्रकका चालकलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ । यद्यपी मिनिट्रक भने पूर्ण क्षती भएको प्रहरीले जनाएको छ ।