arrow

एमालेको गढमा काँग्रेसको प्रतिष्ठाको लडार्इं, भन्छन् 'यो ०५४ साल होईन'

कुन दलबाट कसकाे दाबेदारी ?

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७३ चैत २१ सोमबार
rukh_surya.jpeg
कावासोती (नवलपरासी ) । देशकै मध्यभागमा रहेको कावासोती नगरपालिकामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेयर बन्न राजनीतिक पार्टीका नेताहरुको दौडधुप सुरु भएको छ । जिल्लाकैं महत्वपुर्ण मानिने नगरपालिका मध्येको एक कावासोती नवलपरासी जिल्लाको मिनिसदरमुकाम पनि हो । संविधानले नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेको छ तसर्थ भोलि नवलपरासी जिल्ला दुईवटा हुँदै गर्दा कावासोती नवलपुर जिल्लाको सदरमुकाम बन्ने छ । यसर्थ पनि राजनैतिक दलहरुको ध्यान कावासोतीमा बढी केन्द्रीत भएको छ ।  
 
मेयर र उपमेयरका आकांक्षीहरु राजधानी काठमाडौंदेखि जिल्ला तहका नेताहरुको घरदैलोमा पुगेर आफ्नो चाहाना व्यक्त गरिरहेका छन् । काँग्रेस र एमालेमा आकांक्षीहरुको लर्को नै छ भने माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले अझैंपनि  आन्तरिक  गृहकार्यमा जुटिरहेको बताएका छन् ।  
 
कावासोती नगरपालिका साविकका पाँचवटा गाविसहरु मिलेर बनेको नगरपालिका हो । साविकको शिवमन्दिर, कावासोती, पिठौंली, अग्यौंली र कुमारवर्ती गाविस मिलेर बनेको यस नगरपालिकामा १७ वडा छन् । कावासोती नगरपालिकामा मेयर, उपमेयर, १७ वडा अध्यक्ष र ६८ वडा सदस्य  गरी कुल ८७ जना जन प्रतिनिधी चयन हुनेछन् । जसमा मेयर या उपमेयर मध्ये एकजना महिला गरी कम्तिमा ३५ जना महिला अनिवार्य निर्वाचित हुनेछन् । जसमा दलित महिलाको संख्या कम्तिमा १७ हुनेछ । 
 
काँग्रेसका दावेदार 
काग्रेसबाट मेयरको उम्मेदवारका लागि महेन्द्र पोखरेल र झपेन्द्रश्वर भुषालको नाम बढी चर्चामा छ । युवाहरुकाबीचमा आफ्नो पकड कायम गर्न सफल पोखरेल बिद्यार्थी कालदेखिनैं राजनीतिमा सक्रिय छन् । पोखरेल नेविसंघका पुर्व जिल्ला अध्यक्ष हुन् । काँग्रेसको बिभिन्न जिम्मेवारीमा रहेर पोखरेलले आफ्नो भुमिका निर्वाह गरिसकेका छन् । मेयर पदका अर्का आकांक्षी झपेन्द्रश्वर भुषाल पेशाले प्राध्यापक हुन्  ।
 
उनी कुमारवर्ती बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख हुन् । स्थानीय तहको निर्वाचनको तयारी गर्नकैं लागि उनले क्याम्पस प्रमुखबाट राजीनामा दिएर बसेका छन् । भुषाल पनि पार्टी प्रतिबन्धित रहेकैं अबस्थादेखि पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन् । पुराना काँग्रेसी नेता एकनारायण अधिकारी पनि मेयर पदका आकांक्षी हुन् ।
 
पार्टीको बिभिन्न भुमिकामा रहेर काम गरिसकेका अधिकारी सेवानिवृत शिक्षक हुन् । काँग्रेसबाट कपिलदेव भुषाल पनि मेयरका आकांक्षी हुन् । उनी नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापति साथैं पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएका व्यक्ति हुन् । यसका अलावा काँग्रेसबाट मेयर बन्नका लागि अरु नेताहरुले आकांक्षा देखाएपनि बलियो दावी गरेका छैंनन् ।
 
काँग्रेस स्रोतका अनुसार यिनैं मध्येबाट एकजना मेयरको उम्मेदवार बन्नेछन् । नेपाल महिला संघकी सचिव सरस्वती तिमिल्सिनाले उपमेयर पदमा आफ्नो दावी गरेकी छन् । पछिल्लो पुस्तामा निकैं सक्रिय महिला राजनितिज्ञको रुपमा तिमिल्सिनालाई काग्रेस वृत्तमा हेरिन्छ । त्यस्तैं खगिसरा गुरुङ, सिता कँुवर लगायतको नाम पनि उपमेयरका लागि चर्चामा छ । 
 
काँग्रेसले पनि कावासोतीलाई आफ्नो प्रतिष्ठाको बिषय बनाएको छ । यस अघिको निर्वाचनमा एमालेले कायम गरेको पकड तोड्ने गरी काँग्रेस लागि परेको काँग्रेसका युवा नेता अमृत श्रेष्ठले बताए । श्रेष्ठले भने ०५४ सालको जस्तो अबस्था छैंन, धेरै परिवतर्नहरु भईसकेका छन् । हजारौं मानिसहरु अहिले बसाई सरेर आईसकेको अबस्था छ । त्यसैले आफ्नो पक्षमा नतिजा पार्ने गरी हामी लागि परेका छौं । 
 
एमालेका आकांक्षी 
२०५४ सालको स्थानीय निर्वाचनमा साविकका ५ वटैं गाविस जितेको एमाले यो निर्वाचनमा पनि नतिजा आफ्नैं पक्षमा ल्याउन कम्मर कसेको छ । एमालेले घरदैंलो र घेटघाटलाई तीव्र पारेको छ । एमालेले कावासोतीलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरेको छ । एमालेमा नयाँदेखि पुराना नेताहरुले समेत मेएर पदका लागि आकांक्षा प्रकट गरेका छन् । एमालेबाट बिष्णु भुषाल मेयरका आकांक्षी हुन् । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको स्थापनाकालदेखि अध्यक्ष रहदैं आएका भुषाल एमाले क्षेत्र नम्बर २ का ईन्चार्ज हुन् । भुषाल भुमिगत कालदेखिनैं पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन् । 
 
त्यसैंगरी, अर्का नेता शालिकराम भट्टराई पनि मेयरका आकांक्षी हुन् । उनी एमालेका जिल्ला सचिवालय सदस्य हुन् । नेकपा एमालेको जिल्ला अधिवेशनमा यिनी बर्तमान सांसद जीवन श्रेष्ठसँग सचिव पदमा पराजीत भएका थिए । भट्टराई बिद्यार्थी कालदेखि नैं राजनितिमा सक्रिय छन् । एमालेमा लामो समयदेखि निरन्तर राजनीतिमा क्रियाशील महिला नेतृ चन्द्रा पुनको पनि चर्चा छ । उनी एमालेको प्रदेश नम्बर ४ संगठन कमिटिको सदस्य हुन् । पुन पनि भूमिगत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय छन् । 
 
त्यस्तैं प्रदेश नम्बर ४ संगठन कमिटिका अर्का सदस्य दुर्गा भण्डारी पनि मेयरका आकांक्षी हुन् । उनी पनि बिद्यार्थी कालदेखि नै पार्टी राजनीतिमा सक्रिय छन् । विभिन्न माध्ययमद्धारा एमालेबाट कावासोतीका मेयरको उम्मेदवार बन्न आकांक्षा गर्नेहरुको सूची लामैं छ । शिक्षा क्षेत्रमा लामो अनुभव भएका भोजराज दाहाल, भिम कँडेल, महिला नेतृ पद्मा जि.सि. लगायतले पनि मेयर पदका लागि आकांक्षा प्रकट गरेका छन् । एमाले स्रोतका अनुसार यिनैं नामहरु मध्येबाट मेयर उपमेयरका उम्मेदवार चयन हुनेबताईएको छ । 
 
माओवादी केन्द्र पनि जुर्मुरायो 
केहि दिन अघिसम्म निष्क्रिय जस्तैं बसेको माओवादी केन्द्रपनि अहिले चुनावी अभियानमा होमिएको छ । माओवादीले पनि कार्यकर्ता भेला र भेटघाटलाई तिव्रता दिएको छ । माओवादी केन्दबाट चेतनाथ पोख्रेल र डासिराम वस्याल माईकलको नाम चर्चामा छ । बस्याल वाईसिएल हुदैं माओवादी केन्द्रको राजनीतिमा प्रवेश गरेका हुन् भने पोख्रेल जनमोर्चा हुदैं माओवादी केन्द्रको राजनीतिमा सक्रिय छन्  । 
 
झण्डैं चालिस हजार मतदाता, ३३ मतदान केन्द्र 
निर्वाचन कार्यालय नवलपरासीको रेकर्डमा कावासोती नगरपालिकामा ३९ हजार २ सय ८० मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या १८ हजार २ सय ५२ र महिला मतदाताको संख्या २१ हजार २६ रहेका छन् । कावासोती नगरपालिका भित्र २ जना तेस्रो लिंगी मतदाता छन् । यो २०७३ फागुन ९ गते सम्म १८ बर्ष पुरा भएका नागरिकहरुको विवरण हो । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा कुल ३३ स्थलमा मतदान हुने छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ