काठमाडौं । शनिबार विभिन्न समयमा विभिन्न ठाउँमा चट्याङले तीन जनाको मृत्यु भएको छ । मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामालाई शनिबार राति ११ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त चट्याङको प्रभावले मृतकको तीन जना परिवार सामान्य घाइते भएको र उनीहरु हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।
यता, कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए
यता, शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् । उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ ।