काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेकिछिन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा शुक्रबार जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिए।
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राखेकोमा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिए।
राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उनीहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी थिए।
यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ । रासस