आइजीपी प्रकरण : दोस्रो नम्बरमा रहेका प्रकाश अर्यालले पनि सर्वोच्चमा मुद्दा हाले
प्रकाशित २०७३ चैत ७ सोमबार
1.2k
Shares
काठमाडौं । संगठनको दोस्रो वरियतामा रहेका डीआईजी प्रकाश अर्यालले समेत आफ्नो कार्य सम्पादन मुल्याङ्कन हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
सरकारले तेस्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उत्पन्न विवादबीच पहिलो वरियतामा रहेका डिआईजी नवराज सिलवालको कार्य सम्पादन मुल्याङ्कन फाइल झिकाएपछि अर्यालले आफ्नो पनि कार्य सम्पादन मुल्याङ्ककन
हुनुपर्ने भन्दै रिट दर्ता गराएका हुन् । आइतबार सर्वोच्चले पूर्ण इजलासमा आईजीपी विवाद सम्बन्धमा सुरु गरेको अन्तिम सुनुवाई सोमबार पनि जारी छ । अर्यालको रिट आइतबार दर्ता हुन सकेन । सोमबार विहान १० बजेपछि पुनः सर्वोच्च पुगेका अर्यालको रिट दर्ता भएको हो । डीआईजी अर्यालको तर्फबाट अधिवक्ता सुवास लामिछानेले रिट दर्ता गराए ।
रिटमा आईजीपीका दाबेदार सबैको फाइल अध्ययन गर्नुपर्ने भए पनि सर्वोच्चले दुई जनाको मात्र मगाउँदा दोस्रो नम्बरमा रहेकालाई अयोग्य भन्न खोजिएको आरोप लगाइएको छ । मुद्दाकाे पेशी मंगलबारलाई ताेकिएकाे बताइएकाे छ ।