अन्तरिक्ष स्टेशनमा आठ महिना बिताएर अमेरिकी–रूसी संयुक्त टोली सुरक्षित अवतरण
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
690
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो।
तीन सदस्यीय टोलीले आइएसएसमा २४१ दिनको वैज्ञानिक तथा प्राविधिक अभियान पूरा गरेको थियो। यो अभियान विलियम्स र मिकेभका लागि पहिलो अन्तरिक्ष यात्रा थियो भने कुड–स्वेर्चकोभका लागि दोस्रो अन्तरिक्ष मिसन बनेको छ। अवतरणपछि चालक दललाई हेलिकप्टरमार्फत कारागान्डा लगिने कार्यक्रम रहेको छ। त्यसपछि नासाका अन्तरिक्ष यात्री विलियम्स अमेरिका फर्केर ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर जानेछन् भने रुसी अन्तरिक्ष यात्री कुड–स्वेर्चकोभ र मिकेभ मस्को नजिकैको स्टार सिटीस्थित प्रशिक्षण केन्द्र फर्किनेछन्।
शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धी रहेका अमेरिका र रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा भने लामो समयदेखि सहकार्य गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन युद्धपछि दुई देशबीच राजनीतिक सम्बन्ध तनावपूर्ण बने पनि अन्तरिक्ष कार्यक्रमअन्तर्गत दुवै देशले संयुक्त अभियानलाई निरन्तरता दिएका छन्। त्यसअनुसार अमेरिकी र रुसी अन्तरिक्ष यात्रीहरू दुवै देशका अन्तरिक्षयानमार्फत नियमित रूपमा आइएसएसमा आवतजावत गर्दै आएका छन्।
यसैबीच, जुलाई १४ मा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोसमोसका अन्तरिक्ष यात्री प्योत्र डुब्रोभ र अन्ना किकिना सवार नयाँ टोली कजाकिस्तानस्थित बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपणपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेको थियो। उनीहरूले आठ महिनाको नयाँ अभियान सुरु गरेका छन्। उक्त प्रक्षेपणमा नासाका प्रशासक जारेड आइज्याकम्यान पनि सहभागी भएका थिए। यो आठ वर्षयता नासा प्रमुखको बैकोनुर कोस्मोड्रोम भ्रमणको पहिलो अवसर भएको जनाइएको छ।
हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको ‘एक्सपिडिसन–७५’ अभियानमा नासाका जेसिका मीर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोट तथा रोस्कोसमोसका आन्द्रेई फेडयेभ कार्यरत छन्।