arrow

नवीकरण नहुँदा देशभर दुई हजारभन्दा बढी एम्बुलेन्स थन्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
ambulance-redcross.jpg
तस्बिर फाइल

काठमाडौँ । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण नभएर देशभर दुई हजारभन्दा बढी एम्बुलेन्स थन्किएका छन्।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार देशभर करिब ६ हजार एम्बुलेन्स सञ्चालनमा रहेका छन्। त्यसमध्ये स्वास्थ्य संस्थाबाहेक गैरसरकारी संस्था र निजी क्षेत्रले सञ्चालन गरेका एम्बुलेन्सहरू नवीकरण हुन नसकेका हुन् भने यस्ता थप १ हजार ५०० एम्बुलेन्ससमेत प्रभावित हुने अवस्थामा छन्। स्वास्थ्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्सहरू मात्र हाल नवीकरण भएका छन्।

ऐन आएदेखि नै यसको संशोधनका लागि विभिन्न तहमा निरन्तर पहल गर्दै आएको अध्यक्ष लामिछानेले बताएका छन्। यसअघि पूर्व स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई समेत समस्या अवगत गराइएको र हाल नयाँ सरकार गठन भएकाले स्वास्थ्य मन्त्रीसमक्ष पुनः आफ्ना माग र समस्याहरू राख्ने तयारी भइरहेको उनको भनाइ छ।

एम्बुलेन्स सेवा मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको हुनाले ऐन संशोधन नगरिएमा थप एम्बुलेन्सहरू थन्किने र आम नागरिकले आपत्कालीन स्वास्थ्य सेवा पाउन कठिन हुने चेतावनी सङ्घले दिएको छ।

यस समस्याका कारण धेरै चालकहरूको रोजगारीसमेत गुमेको भन्दै नयाँ सरकारले यसलाई गम्भीरताका साथ लिई यथाशीघ्र समाधान गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ