चैते धान उत्पादन बढाउन मन्त्री चौधरीको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
251
Shares
जनकपुर। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले चैते धान उत्पादनमा जोड दिन तथा कम पानीमा उत्पादन हुन सक्ने सुख्खा धानको अनुसन्धानलाई प्राथमिकता दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्तालाई निर्देशन दिएकी छन्।
दुई दिने धनुषा भ्रमणमा रहेकी मन्त्री चौधरीले आइतबार धनुषाको हर्दिनाथस्थित कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्दै यस क्षेत्रको कृषि उत्पादन, अनुसन्धान तथा किसानका समस्याबारे जानकारी लिएकी हुन्।
सो क्रममा मन्त्री चौधरीले मधेस प्रदेशको कृषि क्षेत्रमा सिँचाइको समस्या गम्भीर रहेको उल्लेख गर्दै कम पानीमा उत्पादन हुन सक्ने धानका जातको अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।
उनले चैते धानको उत्पादन बढाउन आवश्यक अनुसन्धान र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिइन्।
मन्त्री चौधरीले हर्दिनाथमा उत्पादन हुने हर्दिनाथ धानको बीउ गुणस्तरीय भए पनि करिब ३५ प्रतिशत किसानले मात्र प्रयोग गर्ने गरेको उल्लेख गर्दै अधिकभन्दा अधिक किसानले उक्त बीउ प्रयोग गर्ने वातावरण बनाउन अनुसन्धान केन्द्रलाई निर्देशन दिइन्।
उनले किसानलाई गुणस्तरीय बीउ, मल, प्राविधिक सेवा र बजार व्यवस्थापनलाई एकीकृत रूपमा समेट्ने ‘वान प्याकेज’ कार्यक्रममार्फत सेवा उपलब्ध गराउन सुझाव दिइन्।
यसबाट कृषि उत्पादन वृद्धि र किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरिन्।
मन्त्री चौधरीले अनुसन्धान केन्द्रहरूले बजेट अभावको गुनासो मात्र नगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विभाग तथा विकास साझेदारसँग सहकार्य गरी थप स्रोत जुटाउन पहल गर्नुपर्ने बताइन्।
अनुसन्धान केन्द्रहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालसँग आबद्ध रहेकाले त्यहाँबाट पनि अनुसन्धान तथा कृषि विकासका लागि बजेट र प्राविधिक सहयोग भित्र्याउन सकिने उनको भनाइ थियो।
दुई दिनदेखि धनुषाका विभिन्न कृषि सहकारी संस्था, कृषि उत्पादन समूह तथा किसानसँग प्रत्यक्ष भेटघाट गरिरहेकी मन्त्री चौधरीले किसानका समस्या, कृषि उत्पादनको अवस्था र सम्भावनाबारे जानकारी लिएकी छन्।
उनले मधेस प्रदेशका किसानको उत्पादन क्षमता वृद्धि, गुणस्तरीय बीउको प्रयोग विस्तार तथा कृषि क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सरकारले विशेष प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।