लोकतन्त्रमा सबै पेशाको सम्मान हुन्छ : आइजीपी कार्की [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
297
Shares
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वास्तविक लोकतन्त्र भनेको हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दमा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले लोकतन्त्रमा सबै पेशाको सम्मान हुने बताएका हुन् ।
उनले लोकतन्त्रको वास्तविक अर्थ नागरिकहरूले आफ्ना कर्म, पेशा र व्यवसायप्रति गर्व गर्न सक्ने अवस्था सिर्जना हुनु रहेको बताए। पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने, प्रहरी वा मजदुर जोसुकै भए पनि आफ्नो कामप्रति आत्मसम्मान महसुस गर्न पाउनुपर्ने र समाजले उनीहरूको योगदानको समान सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक समाजमा सबै कर्मलाई धर्मका रूपमा सम्मान गरिनुपर्ने बताए।
समाजमा ओहदा वा हैसियतका आधारमा फरक-फरक व्यवहार गर्ने, कसैलाई सम्मान गर्ने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उनले स्पष्ट पारे।
महानिरीक्षक कार्कीले भने, "लोकतन्त्र हुनुको अर्थ लोकतन्त्र हो भनेर सय पटक दोहोर्याउनु मात्र होइन। लोकतन्त्र त्यहीँ हुन्छ, जहाँ नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायमा गर्व गर्न सक्छन्। पसलेले पसल गरेकोमा, इलेक्ट्रिसियनले आफ्नो सीपमा, भान्सेले आफूले पकाएको खानाले मानिसलाई जीवन र खुसी दिएकोमा, लुगा सिलाउनेले आफ्नो काममा, प्रहरीले प्रहरी भएकोमा र मजदुरले मजदुर भएकोमा गर्व गर्न पाउनुपर्छ। जहाँ पेशाका आधारमा कोही सानो वा ठूलो मानिँदैन, त्यहीँ वास्तविक लोकतन्त्र हुन्छ।"
उनले विभिन्न स्थानमा व्यक्तिको हैसियतका आधारमा कसैलाई सोफामा, कसैलाई कुर्सीमा वा भुइँमा बसाल्ने, कसैलाई सम्मान गर्ने र कसैलाई बेवास्ता गर्ने जस्ता विभेदकारी व्यवहार घर, समाज, प्रहरी कार्यालय वा कुनै पनि सरकारी कार्यालयमा स्वीकार्य हुन नसक्ने बताए।
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै कुनै पनि आधारमा विभेद हुन नहुने उल्लेख गरे।
साथै, नवनिर्मित भवनले सेवाग्राहीलाई थप सहज सेवा प्रदान गर्नुका साथै प्रहरी कर्मचारीको कार्यसम्पादनमा समेत सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।