arrow

घ्याङलेखको मुहार फेरियो, कालोपत्रे सडकले दुर्गम गाउँलाई विकाससँग जोड्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
ghanglake-sadak.jpg

सिन्धुली। वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ। पिपलडाँडा-हायूटार-रामपुर सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ।

बीपी राजमार्गबाट गाउँपालिका केन्द्रसम्म पुग्ने मुख्य सडक कालोपत्रे भएपछि शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटन क्षेत्रमा सहज पहुँच विस्तार भएको छ। विगतमा नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता रहेको क्षेत्रमा अहिले सवारी साधन नियमित रूपमा सञ्चालन हुन थालेका छन्।

घ्याङलेख गाउँपालिका-२ का ७८ वर्षीय विन्द्रे स्याङ्तानले सडकले गाउँको मुहार नै फेरिदिएको बताए। उनका अनुसार पहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै कठिन हुने गरेकोमा अहिले सवारी साधन गाउँमै पुग्दा जनजीवन सहज बनेको छ।

वागमती प्रदेश सरकारले प्रदेशभरका २५० सडकलाई प्रादेशिक लोकमार्ग र प्रादेशिक मार्गका रूपमा वर्गीकरण गरी निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार हालसम्म एक सय १९ स्थानीय तहमध्ये ८९ स्थानीय तहका केन्द्र पक्की सडकसँग जोडिएका छन् भने बाँकी ३० केन्द्र जोड्न ३०५ किलोमिटर सडक र नौ ओटा पुल निर्माण गर्न आवश्यक बजेट व्यवस्था भइसकेको छ।

उनका अनुसार सडक निर्माणसँगै स्थानीयको जीविकोपार्जन र उद्यमशीलता प्रवर्द्धन गर्ने नीति पनि प्रदेश सरकारले अघि सारेको छ। त्यसअन्तर्गत सिन्धुलीको घ्याङलेख, सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राखिएको छ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार ३७ किलोमिटर लामो पिपलडाँडा-हायूटार-रामपुर सडक आयोजनाअन्तर्गत हालसम्म २९ दशमलव ३ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भएको छ। पाँचमध्ये तीन ओटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक र पुल निर्माणको काम पनि अघि बढिरहेको छ।

हालसम्म करिब ४६ करोड ९८ लाख रुपैयाँ लागतमा १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रे तथा तामाजोर र ठाडीखोला पुल निर्माण सम्पन्न भएको छ। बाँकी ७ दशमलव ७ किलोमिटर सडक स्तरोन्नति, हाडीखोला र मरिण खोलामा पुल निर्माण तथा अन्य पूर्वाधार विकासका काम प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

स्थानीय शिक्षक मिलन रानामगरले दशकअघि विद्यालय पुग्न पहिरो र हिलो छिचोल्दै घण्टौं पैदल हिँड्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले सडक स्तरोन्नतिसँगै यात्रा सहज भएको बताए।

सडकको पहुँचले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन, विद्यार्थी र शिक्षकलाई नियमित विद्यालय पुग्न तथा स्थानीयलाई प्रशासनिक सेवा लिन सहज भएको उनको भनाइ छ।

सडक सञ्चालनसँगै घ्याङलेखमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज सिन्धुली, बनेपा र काठमाडौंसम्म सहज रूपमा पुग्न थालेका छन्।

ढुवानी लागत घटेपछि किसानको आम्दानी बढेको छ भने व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण समेत बढेको स्थानीयले बताएका छन्।

सडक विस्तारसँगै बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालयलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। स्थानीयका अनुसार सडकले घ्याङलेखलाई यातायातसँग मात्र नभई विकास, पर्यटन र समृद्धिसँग पनि जोडेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ