विश्वका धेरै देशले आफू सुहाउँदो विकास मोडल तय गरिसके। हामी पनि विगत केही दशक अगाडिबाट देश विकास गर्ने योजना बनाएर नै डाँडाहरू क्षत-विक्षत बनाइसकेका छौँ । केही डाँडाका बाटोहरू पिच भैसक्यो भने केही पिच हुने चरणमा छन् । विकास भन्नाले आवश्यकताको आधारमा तथा खर्च किफायती हुनुका साथै दिर्घकालिन हुनु पर्ने हुन्छ।
हाम्रोमा भने कहिले कलंकी र गँगबुको नयाँ बसपार्कमा आकाशेपुल बनाउँदा ठीक हुन्छ भनेर बनाउने अनि केही वर्ष पुल माथिबाट भुईमा पिच्च पार्यो फोहर गर्यो। कस्को दिमागमा एक्कासी आएको आइडियाले त्यो पुल भत्काउँदा विकास अझै राम्रो हुन्छ भनेर भत्काइदिने अनि टोलाएर हेर्ने।
अर्को खाले विकास चाइना सरकारको सहयोगमा चक्रपथ निर्माण गर्दा कलंकीमा अण्डरपास बनाउँदा राम्रो हुन्छ भनेर बनाए तर ठूला-ठूला बीम चाहिँ के का लागि राखेको ? आकास हेर्नका लागि हो भने साना साना बीम मात्र राखेको भए हुँदैनथ्यो ? अनि बीममाथि ढलान गरिदिएको भए माथि पनि सवारी साधन रोकेर केही समय आराम गर्न मिल्ने थियो त्यो चाहिँ कीन नगरेको ? यो कस्तो खाले विकास हो, दशैँमा कलंकी अण्डरपासको बीममा डोरी झुण्ड्याएर पीङ खेल्नका लागि खुला राखेको! हो? डोरी झुण्ड्याउन सजिलो बनाएको हो ? विकास ? प्रदान ? हो ?
उता ग्वार्कोमा बाटो बनाइसके पश्चात तुरुन्त नै त्यहाँ फ्लाई ओभर अझ सुहाउने रहेछ भनेर माटो किनेर आधा बाटो पुरेर अग्लो बनाएर माटोमाथि पिच गरेर विकास गरे । कुनै दिन ठूलो भुइँचालो ग्वार्को वरिपरि इपिसेन्टर पारेर हल्लायो भने माटोको पसारो देख्न पाइने भयो ।
विश्वका धेरै देशले फ्ल्लाई ओभरले प्रकृतिको सुन्दर मुहार विगारेको पत्ता लगाएर फ्ल्लाई ओभर हटाएर भुईँको सडकमानै सवारी साधन आवत जावत गर्ने गरेका छन्। हाम्रो तिरका इन्जिनियर महोदयहरूले बाहिरको उदाहरण कहिल्यै चासो दिँदैनन् कि कसो हो ? कहाँ गएर सिक्दा संसारमा नै नभएको विकास मोडल हामीले आविश्कार गर्दै गएको ? विकास ? मगज हल्लिएर हो ?
नयाँ सरकार बने पश्चात काठमाडौँमा सुरुङ खनेर भित्रभित्रै हिँडदा वा मोनोरेल बनाउँदा सहरलाई सुहाउँछ भन्दैछन् । यिनलाई हेक्का छ कि छैन, नेपालमा हाल जम्माजम्मी दुई करोड ५० लाख जति मानिसहरू बसोबास गरिरहेका छन् । नवजात शिशु एक जना जन्माउनका लागि १० घरमा सल्लाह गरेरमात्र पनि गाह्रो मान्दैछन्।
जनसंख्या घट्दो क्रममा रहेको अवस्थामा हामीले दैनिक हिँड्डुल गर्नका लागि उपभोग गर्ने सार्वजनिक यातायात उपयोग गर्दा कुनै समस्या छैन । अनि कसको पैसा चोरेर मनोरेल बनाएर रेलमा झुण्डिएर माथिबाट तल पिच्च पार्ने ? कहाँ जानका लागि मनोरेलको आवश्यकता हो ? काठमाडौँ रिङरोड पूरै घुमेर हिँडदा २७ किलोमिटरमात्र हुन्छ । एक घण्टा जाँगर लगाएर हिँडेमा काठमाडौँ र ललितपुरमा रहेको कार्यालय आवत जावत सम्भव हुन्छ ।
सार्वजनिक यातायात पनि सहज रुपमा उपलब्ध हुने पक्ष सराहनीय छ । नयाँ विकास गर्न खोजेको मनोरेल चाहिँ बाँदर धपाउनका लागि प्रयोग गर्ने ? सरकार आवश्यकता नै नभएको क्षेत्रमा खर्च गर्न नहतारिनुस् । एअरपोर्टको जग्गाको केही भाग छुने गरी मुनिबाट अण्डरपास बनाउने कुरा पनि उच्चारण नगर्नुस् ।
बनिसकेको बाटोको खाल्डा खुल्डी पुर्नुस्। बाटोको छेउँमा रहेको अव्यवस्थित फुटपाथ व्यवस्थित गर्नुस् । विद्युत लगायतका तार भूमिगत बनाउने कामलाई गति दिनुस् । खाली भएको कृषि योग्य जमिनको सदुपयोग गर्ने रणनीति बनाउनुस् । मठ मन्दिरको सरसफाइमा ध्यान दिनुस् । नागरिकलाई हाँसेर सेवा प्रदान गर्नुस् । नेपाली मौलिकता झल्काउने सामान उत्पादन गरेर विदेश निर्यात गर्ने नीति अपनाउनुस् । हाल निर्माणाधीन बाटो, पुल आदिको निर्माण सम्पन्न गर्नुहोस् ।
पृथ्वी मातालाई दुःख पीडा दिने काम भने नगर्नुस् । हाम्रो देवभूमिमा फालिएको फोहर व्यवस्थापनमा ध्यान दिएर काठमाडौँका नदीनालामा गंगाजल बगाउनका लागि प्रयास गर्नुस अरु हामीलाई केही आवश्यक छैन । आवश्यक नै नभएको विकासका लागि मगज नहल्लाऔँ । देवभूमिको रक्षा गरौँ।