अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला देश निकाला
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
447
Shares
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष अपरेसनमार्फत अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायतका पर्यटकीय क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ५७ जना विदेशी महिलालाई पक्राउ गरिएकोमा अनुसन्धानपश्चात ४७ जनालाई अध्यागमन विभागमार्फत डिपोर्ट गरिएको जानकारी दिएका हुन्।
देश निकाला गरिएकाहरूलाई युगान्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश, केन्या र इन्डोनेसिया पठाइएको छ भने बाँकी १० जनामाथि अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा अनलाइन बेटिङ र हुण्डीसम्बन्धी गतिविधिबारे समेत जानकारी दिँदै एसपी भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने संगठित नेटवर्क सक्रिय रहेको बताएका छन्।
त्यस्ता व्यक्ति तथा समूहको पहिचान, बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई प्रहरीले तिब्र बनाएको छ। यसका साथै, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने ३०९ जना विचौलियालाई पनि प्रहरीले पक्राउ गरेको छ, जसमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ।