arrow

देश गम्भीर संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन्: जयन्तीदेवी राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
jayantidevi-rai--8-04.jpg

काठमाडौँ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्तीदेवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गरेकी छन्।

४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनता फेरि विकल्पको खोजीमा रहेको बताइन्।

उनले भनिन्, ‘साच्चिकै संकटमा छ यो देश। आज जनअधिकारहरू गुम्दैछन्। त्यसकारण हामीले सोच्नैपर्छ। आज हरेक जनताले विकल्प खोजेका छन्।’

राईले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै २००७ सालमा जनताले अधिकार स्थापनाका लागि नेपाली कांग्रेसलाई रोजेको उल्लेख गरिन्। त्यसपछि २०४६/४७ सालमा पञ्चायती व्यवस्था अन्त्य र जनअधिकारको रक्षाका लागि संघर्ष गरेका कारण जनताले कम्युनिष्ट शक्तिमाथि विश्वास गरेको बताइन्।

उनले २०६२/६३ को जनआन्दोलनपछि पनि जनताले कम्युनिष्ट शक्तिलाई नै रोजेको उल्लेख गर्दै त्यसबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी) प्रति जनविश्वास रहेको बताइन्।

उनले भनिन्, ‘२००७ सालमा पनि जनताले विकल्प खोजे। त्यतिबेला जनअधिकारका लागि भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसलाई रोजे। त्यसपछि २०४६/४७ सालमा पञ्चायत ढाल्न र जनअधिकारको सुरक्षाका लागि संघर्ष गर्ने कम्युनिष्ट शक्तिलाई रोजे। २०६२/६३ को जनआन्दोलनपछि फेरि कम्युनिष्टलाई नै रोजे, जहाँ कमरेड प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई जनताले विश्वास गरे।’

राईले अहिले पनि जनताले नयाँ विकल्पको खोजी गरिरहेको दाबी गर्दै पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति असन्तुष्टि बढ्दै गएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘आज पुरानो पार्टीको विकल्प भन्दै नयाँ पार्टीलाई रोजे, तर त्यो पनि टिक्नेवाला छैन। पुरानो पार्टीले ३५ वर्ष चलायो, तर नयाँ पार्टी सय दिनमै धेरै दुःखपूर्ण अवस्थामा पुगेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ