सम्पत्ति शुद्धीकरण विभागले गर्यो करिब एक खर्ब १८ अर्ब बिगो दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
542
Shares
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल सातवटा मुद्दा अभियोजन गरेको छ।
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा १२१ जनालाई प्रतिवादी बनाइएको छ भने उनीहरूबाट करिब रु एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनाहरूलाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाइने व्यवस्था रहेको छ।
अनुसन्धान र अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा चारवटा अनुसन्धान शाखाका साथै कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखासमेत सञ्चालनमा छन्।
विभागले विशेष गरी राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरहरूको अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय विभागले यससम्बन्धी अध्ययन, अनुसन्धान तथा तहकिकात प्रक्रियालाई थप तीव्र र गतिशीलता प्रदान गरेको जनाएको छ।