कम्बोडिया र न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ठगी, दुई पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
94
Shares
काठमाडौँ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै १५ लाख ७० हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पछिल्ला दिनमा वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना रोकिएका छैनन् भन्ने अर्को उदाहरणका रूपमा यो घटना देखिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई हाल काठमाडौँ तारकेश्वर-५ बस्ने ३७ वर्षीय हरिबहादुर पन्त र सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भई हाल ललितपुर गोदावरी-३ बस्ने ४७ वर्षीय अमृत मगरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पन्तले कम्बोडिया पठाइदिने आश्वासन दिँदै दुई जना पीडितबाट पाँच लाख रुपैयाँ उठाएका थिए।
त्यसैगरी अमृत मगरले न्यूजील्याण्ड पठाइदिने भन्दै एक जना पीडितबाट १० लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि प्रहरीले उनीहरूलाई क्रमशः बूढानीलकण्ठ-७ र ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो।
प्रहरीले दुवै अभियुक्तलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
साथै वैदेशिक रोजगारीमा जानुअघि सरकारले अनुमति दिएका म्यानपावर कम्पनी र आधिकारिक प्रक्रियामार्फत मात्रै अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ।