arrow

'गर या मर' को अवस्थामा नेदरल्याण्ड्ससँग भिड्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
nepal-hongkong-25-02.jpg

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्ड्ससँग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्समा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरू हुनेछ।

नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटको निराशाजनक हार बेहोरेपछि जितको खोजीमा मैदान उत्रन लागेको हो।

उक्त खेलमा नेपाल ४३.४ ओभरमा १५७ रनमै समेटिएको थियो भने नामिबियाले ३७.३ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गरेको थियो। कमजोर ब्याटिङ र प्रभावहीन बलिङका कारण नेपालले महत्वपूर्ण दुई अंक गुमाएको थियो।

आजको खेल नेपालका लागि पुनरागमन गर्ने अवसर मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना बलियो बनाउने महत्वपूर्ण परीक्षा पनि हो।

शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण प्रदर्शन गर्नुका साथै बलरहरूले सुरुदेखि नै विपक्षीमाथि दबाब सिर्जना गर्नुपर्ने चुनौती रहेको छ।

लिग-२ को अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक छ। राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन्।

नेदरल्याण्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने अमेरिका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा छन्।

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका बाँकी सातै खेल अत्यन्तै निर्णायक छन्।

यद्यपि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ।

यस शृङ्खलामा नेपालले साउन ११ गते पुनः नामिबियासँग तथा साउन १३ गते फेरि नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ।

नेपाली टोलीले अघिल्लो हारको समीक्षा गर्दै आज नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण दुई अंक बटुल्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ