arrow

क्रियाशील सदस्यता अद्यावधिक : विवाद होइन, कांग्रेसको डिजिटल भविष्यको आधार

logo
पदमसुन्दर गुरुङ,
प्रकाशित २०८३ साउन ७ बिहिबार
padma-sundar-gurung-07-04.jpg.jpeg

पछिल्लो समय नेपाली कांग्रेसभित्रका अघिल्लो पुस्ताका केहि नेताहरुबाट नेपाली कांग्रेस  क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण र नयाँ वितरण सम्बन्धी विषयलाई एउटै दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास भइरहेको देखिन्छ। यही कारणले अनावश्यक भ्रम, आशंका र विवाद सिर्जना भएको छ। वास्तवमा यी तीनवटै प्रक्रिया उद्देश्य र प्रकृतिका हिसाबले फरक–फरक हुन्। तिनलाई एउटै रूपमा बुझ्नु वा बुझाउनु पार्टी संगठनका लागि हितकर हुन सक्दैन।

कतिपय साथीहरूले वर्तमान सभापति गगन थापा महामन्त्री हुँदा क्रियाशील सदस्यताको विषय टुंगिएको थियो, त्यसैले फेरि अद्यावधिक किन आवश्यक भन्ने प्रश्न उठाइरहनुभएको छ। तर यो बुझाइ तथ्यगत रूपमा सही होइन। साधारण भाषामा नवीकरण भनेको सदस्यताको निरन्तरता सुनिश्चित गर्ने प्रक्रिया हो भने नयाँ वितरण भनेको नयाँ व्यक्तिलाई क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रिया हो। तर अद्यावधिक भनेको सदस्यको सम्पूर्ण विवरणलाई व्यवस्थित, प्रमाणित र डिजिटल रूपमा अभिलेखीकरण गर्ने प्रक्रिया हो। यी तीन ओटैको उद्देश्य फरक छ । 

क्रियाशील सदस्यता अध्यावधिक अघि  नेपाली कांग्रेसका धेरै क्रियाशील सदस्यहरूको नाम, जिल्ला, स्थानीय तह र वडा बाहेक अन्य विवरणहरु व्यवस्थित रूपमा उपलब्ध नै थिएन। अधिकांश सदस्यहरूको सम्पर्क नम्बर, इमेल ठेगाना, वर्तमान बसोबास, पेशागत विवरण लगायतका आधारभूत सूचना केन्द्रसँग अभिलेखित नभएको अवस्थामा पार्टी केन्द्रले आफ्ना निर्णय, सूचना वा निर्देशन प्रत्येक क्रियाशील सदस्यसम्म प्रत्यक्ष रूपमा पुर्‍याउने कुनै प्रभावकारी माध्यम उपलब्ध हुँदैन। 

अहिले पनि केन्द्रका महत्वपूर्ण निर्णयहरू जिल्ला, पालिका र वडा समितिमार्फत तलसम्म पठाइन्छन्। तर कतिपय अवस्थामा स्थानीय नेतृत्वको सक्रियता, प्राथमिकता वा आन्तरिक गुटगत प्रभावका कारण ती सूचना सम्बन्धित सदस्यसम्म समयमा नपुग्ने अवस्था सिर्जना हुन्छ। आधुनिक राजनीतिक संगठनका लागि यस्तो अवस्था दीर्घकालीन रूपमा उपयुक्त हुन सक्दैन। 

यसै समस्याको समाधानका लागि क्रियाशील सदस्यता अद्यावधिक अपरिहार्य छ। अद्यावधिकका क्रममा प्रत्येक सदस्यको सम्पर्क नम्बर, इमेल ठेगाना तथा अन्य आवश्यक विवरण संकलन गरिन्छ। यसबाट पार्टी केन्द्र र सदस्यबीच प्रत्यक्ष सम्पर्क स्थापित हुन्छ। सूचना प्रवाह छिटो, पारदर्शी र प्रभावकारी बन्छ। सदस्यहरू पनि नेतृत्वसँग प्रत्यक्ष रूपमा जोडिन सक्ने अवस्था निर्माण हुन्छ। त्यति मात्र होइन, पार्टीका नीति, कार्यक्रम, संगठनात्मक सुधार वा राष्ट्रिय महत्वका विषयमा केन्द्रले आवश्यक पर्दा प्रत्यक्ष रूपमा आफ्ना सदस्यहरूको राय, सुझाव र प्रतिक्रिया लिन सक्नेछ। सदस्यहरूले पनि आफ्ना असहमति, सुझाव वा धारणा कुनै बिचौली बिना केन्द्रसम्म पुर्‍याउन सक्नेछन्। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनेछ।

यस प्रक्रियाको अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली कांग्रेसको विधानले परिकल्पना गरेको प्राइमरी इलेक्सन प्रणालीलाई व्यवहारमा कार्यान्वयनमा लैजान यो अध्यावधिक अत्यन्त ठूलो सहयोग सिद्व हुनेछ । भविष्यमा पार्टीले विधानअनुसार उम्मेदवार छनोट वा अन्य आन्तरिक लोकतान्त्रिक प्रक्रियामा प्राइमरी इलेक्सन लागू गर्दा अद्यावधिकबाट प्राप्त सम्पर्क नम्बर र इमेल नै सबैभन्दा भरपर्दो माध्यम बन्नेछ। क्रियाशील सदस्यहरूले आफ्नो मत, राय र समर्थन सुरक्षित तथा सहज रूपमा व्यक्त गर्न सक्नेछन्। क्रियाशील सदस्यता अद्यावधिकको आवश्यकता केवल अभिलेख व्यवस्थापनको विषय मात्र होइन, संगठनको वास्तविक शक्ति पहिचान गर्ने आधार पनि हो। 

उदाहरणको लागि विगतका निर्वाचनहरूलाई हेर्दा कतिपय वडाहरूमा चार सयभन्दा बढी क्रियाशील सदस्य रहेको अभिलेख भए पनि निर्वाचनका बेला पार्टी वा पार्टीका उम्मेदवारले त्यति मत प्राप्त नगरेका उदाहरणहरू प्रशस्तै छन्। यसले एउटा गम्भीर प्रश्न उठाउदै आए पनि प्रश्नको जवाफ खोज्ने प्रयास कुनै नेतृत्वबाट भएको थिएन । के आज ती सबै क्रियाशील  सदस्यहरू अझै पनि सक्रिय रूपमा पार्टीसँग आबद्ध यही प्रश्नको उत्तर खोज्ने माध्यम हो क्रियाशील सदस्यता अद्यावधिक। सदस्य आफैँले आफ्नो विवरण अद्यावधिक गरी पार्टीसँगको सम्बन्ध पुनः पुष्टि गरेपछि मात्र संगठनको वास्तविक अवस्था स्पष्ट हुन्छ। यसले सक्रिय र निष्क्रिय सदस्यको अवस्था छुट्याउन मात्र होइन, संगठनलाई तथ्यमा आधारित बनाउने काम पनि गर्छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले पनि यसको आवश्यकता अझ स्पष्ट बनाएको छ। विशेषगरी भदौ २३–२४ पछिको राजनीतिक आन्दोलन र त्यसपछिको परिवर्तित राजनीतिक परिवेशमा निर्वाचनका क्रममा खुलेआम अर्को दल वा उम्मेदवारको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने, तर संगठनको अभिलेखमा भने आफूलाई कांग्रेसको क्रियाशील सदस्यकै रूपमा कायम राख्न चाहने प्रवृत्ति पनि विभिन्न तहमा देखिएको भन्दै पार्टीभित्र पटक पटक प्रश्न उठ्ने गरेको छ। यदि यस्ता प्रवृत्तिलाई निरुत्साहित गरी संगठनलाई वास्तविक रूपमा सक्रिय सदस्यहरूको आधारमा सञ्चालन गर्ने हो भने क्रियाशील सदस्यता अद्यावधिक अपरिहार्य हुन्छ। 

अद्यावधिकको उद्देश्य कसैलाई सदस्यताबाट वञ्चित गर्नु होइन, बरु पार्टीसँग सक्रिय सम्बन्ध कायम राख्न चाहने प्रत्येक सदस्यको सही विवरण सुरक्षित गर्नु, संगठनलाई व्यवस्थित बनाउनु र भविष्यको संगठनात्मक योजना यथार्थमा आधारित बनाउनु हो।

त्यसैले हिजो कसैले सदस्यता नवीकरण गरेको होस् वा नगरेको होस्, नयाँ सदस्य बनेको होस् वा पुरानो सदस्य नै किन नहोस्, अद्यावधिक सबैका लागि समान रूपमा आवश्यक प्रक्रिया हो। यसलाई नवीकरण वा नयाँ सदस्यता वितरणसँग जोडेर विवादको विषय बनाउनु उचित होइन।

आज विश्वका सफल राजनीतिक दलहरू प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित व्यवस्थापन प्रणालीतर्फ अघि बढिरहेका छन्। नेपाली कांग्रेसले पनि समयको मागअनुसार आफ्नो संगठनलाई आधुनिक सूचना प्रविधिसँग जोड्दै लैजान क्रियाशील सदस्यता अद्यावधिक अभियान एउटा महत्वपूर्ण र दूरदर्शी कदम हो । (लेखक गुरुङ नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी नेपाली जनसम्पर्क समिति बहराइनका निवर्तमान सभापति हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ