arrow

कोलकाता–विराटनगर कार्गो रेल सञ्चालन: ढुवानी लागत र समय बचत हुने उद्योगीहरूको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
cargo-rail-nepal-india.jpg

काठमाडौँ । विराटनगरका उद्योगी तथा व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवैमा ठूलो बचत हुने विश्वास व्यक्त गरेका छन्।

विश्वका अन्य देशबाट उद्योगका लागि आयात गरिने कच्चा पदार्थलगायतका सामग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याउँदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनीहरूको भनाइ छ। मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गर्दा लागत मात्र नभई समय पनि बचत हुनेछ। सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (इिसिटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने र मोबाइलबाटै निगरानी गर्न सकिने उनले बताए।

अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका अन्य शुल्कसमेत घट्ने भएकाले नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए। आगामी दिनमा यस सेवाको निरन्तरताले नेपालमा उत्पादित सामग्री भारत तथा तेस्रो मुलुकतर्फ निर्यात गर्नसमेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ। पछिल्लो समय कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमतासमेत सुदृढ हुने विश्वास लिइएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि गरिएको परिणाममुखी प्रयासबाट पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन लामो समयदेखि माग गर्दै आएको थियो। दुवै देशका सरकारले नीतिगत र कानुनी जटिलता फुकाइदिएसँगै कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको हो।

सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि पनि यो अति लाभदायक हुने बताएका छन्। त्यस्तै, मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी तथा व्यापारीहरूको प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानतर्फ भएको यस प्रगतिप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ