ग्रीन रन कार्यक्रममा दौडिए कांग्रेस नेताहरू, गगनले भने - प्रतिपक्षको सक्रियता ब्रेक बिनाको दौड [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
516
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेसको ग्रीन रन कार्यक्रममा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा दौडिएका छन् । बुधवार बीपी कोइरालाको स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित ‘जलवायु जनचेतना दौड’ कार्यक्रममा नेताहरु दौडिएका हुन् ।
गगन, विश्वप्रकाशसँगै महामन्त्री प्रदीप पौडेलसँगै डा चन्द्रकान्त भण्डारी लगायतका नेताहरू पनि दौडिएका हुन् ।
दौड पूरा गरेपछि आफूलाई साथीहरूले ठट्टा गर्दै ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ’ भनेको सुनाउँदै सभापति थापाले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको बताए।
सभापति थापाले भने, ‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो–गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’
थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।
यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेनले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए ।
सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ बिनाको दौडसँग तुलना गरेका छन् ।