सदर चिडियाखाना पुन: सञ्चालन, २७ दिन बन्द हुँदा तीन करोड नोक्सानी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
303
Shares
ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द रहँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्डफ्लु सङ्क्रमण देखिएपछि असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमणपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो।
त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
उनका अनुसार सामान्य दिनमा दैनिक एक हजार सात सयदेखि एक हजार आठ सय जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए।
शनिबार पाँच हजारदेखि सात हजार तथा आइतबार तीन हजार पाँचदेखि पाँच हजार जनासम्म आगन्तुक आउने गरेका थिए। तर पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने आठ सय जनाले मात्र चिडियाखाना अवलोकन गरेका छन्।
हाल चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि एक सय रुपैयाँ, विद्यार्थीका लागि एक सय ५० रुपैयाँ तथा अन्य आगन्तुकका लागि दुई सय ५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा उक्त लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।
हाल टिकट काउन्टर बिहान १० देखि अपराह्न ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ भने सबै आगन्तुकले साँझ ५ बजेसम्म चिडियाखाना परिसर छाडिसक्नुपर्ने नियम लागू गरिएको छ। सङ्क्रमणअघि टिकट काउन्टर साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको थियो। रासस